काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले दिल्लीमा उच्च राजनितिक भेटघाट सुरु गरेका छन् । बिहान निधी दैवी प्रकोप सम्बन्धि नेसनल डिजास्टर मेनेजमेन्ट अथोरिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा भारतले प्राकृति विपत्त तथा दैवी प्रकोप रोक्नका लागि गरेका पूर्व तयारीबारे छलफल भएको थियो । निधीले अहिले गृहमन्त्री राजनाथ सिंहसंग भेटघाट गरिरहेका छन् । सिंहले निधीसँग लञ्च बैठकको आयोजना गरेका छन् ।
त्यसै लगत्तै निधीले पौने ३ बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटघाट गर्ने छन् । त्यसपछि साँझ ६ वजे निधीले भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई भेटघाट गर्ने छन् । निधीले शानिबार बिहान भारतीय प्रधामन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रुपमा निधी बिहीबार चार दिने भ्रमणको लागि आएका हुन् । निधीले दाहालको भारत भ्रमणको मिति तय गर्नुका साथै अन्य द्विपक्षीय भेटघाटको मिति तय गर्ने छन् । नयाँ सरकार भारतसँग राम्रो सम्बन्ध कायम गर्न तयार रहेको दाहालको सन्देश लिएर निधी आएका छन् । साथै नयाँ सरकारको प्राथमिकता विकासका परियोजनाहरु रहेको सन्देश भारतलाई दिन समेत दाहालले निधीलाई सुझाएर पठाएका छन् ।
यसैबीच ढिलो दिल्ली आइपुगेका निधीको सम्मानमा भारतस्थित नेपाली दूतावासले रात्री भोजको आयोजना गरेको थियो । सो रात्री भोजमा नेपालका लागि भारतीय पूर्व राजदूतहरु राकेश सुद, शिवशंकर मुखर्जी, केभी राजन, जयन्त प्रसाद र विपक्षी कांग्रेसका नेता करण सिंह लगायत भारतका विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिती थियो । पूर्व राजदूतहरुले निधीसँग समसामयिक विषयमा कुराकानी गरेका थिए ।