Wednesday, 17 August 2016

चिनियाँ प्रधानमन्त्रीले भने नेपालसँग सहकार्य गर्न तयार छौं

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान एवं अर्थमन्त्री कृणबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेटेका छन् ।अर्थमन्त्री महरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा सोमबार चीन गएका हुन् ।

भेटमा खछ्याङले राष्ट्रपति सी जिनपिङ र आफूलाई नेपाल भ्रमणको निम्तो दिएको धन्यवाद दिएका छन् । उनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि चीनको भ्रमण गर्न आग्रह गरेको बेइजिङस्थित नेपाली कार्यबाहक राजदूत हरिशचन्द्र घिमिरेले अनलाइनखबरलाई बताए । उनले भने, ‘यसबारे दुई देशका परराष्ट्र मन्त्रालयलाई नियमित सम्पर्कमा रहेर आवश्यक संमन्वय गर्न भनिएको छ ।’

चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोज अन्त्यतिर नेपाल भ्रमणमा आउने तयारी छ । सरकार परिर्वतनसँगै सीको भ्रमणलाई लिएर अनेक शंका उपशंका भइरहेका बेला सरकारले उपप्रधानमन्त्री महरालाई दूत बनाएर बेइजिङ पठाएको थियो ।

भेटमा दुई देशको विकसित राजनीतिबारे छलफल भएको छ । उपप्रधानमन्त्री महराले नेपालको आर्थिक सामाजिक विकासमा चीनले गरेको सहयोगको प्रशंसा गरेका छन् । जवाफमा चिनियाँ प्रधानमन्त्री लीले नेपाल र चीनबीच व्यवहारिक सम्वन्ध रहेको चर्चा गरे ।

साथै उनले नेपालमा सरकार परिर्वतनलाई आन्तरिक मामिला भन्दै चीनले गर्ने सहयोगलाई निरन्तरतालाई बताएका छन् । प्रधानमन्त्री लीले नेपालसँग सम्भव भएसम्म सहकार्य गर्न तयार रहेको बताएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।

चिनियाँ प्रधानमन्त्री ली र प्रधानमन्त्रीका विशेष दूत महराबीचको भेटवार्ता झण्डै ३० मिनेट चलेको थियो । भेटमा नेपाल र चीन दुबै पक्ष दुई देशबीच भएका सन्धि सम्झौतालाई कार्यान्वयन गर्दै अघि बढाउन सहमत भएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us