Wednesday, 31 August 2016

स्वास्थ्यमन्त्री गगन थापाले थाले अस्पताल निरीक्षण

काठमाडौं । स्वास्थ्यमन्त्री गगनकुमार थापाले काभ्रेका दुई अस्पताल निरीक्षण गरेका छन् । उनले बनेपा घोकेचौरस्थित शिर मेमोरियल अस्पताल र बुडोलमा रहेको रेयुकाई एइको मासुनागा आँखा अस्पताल निरीक्षण गरेका हुन् ।

शिर ममोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेल एम मोले, प्रशासकीय प्रमुख सुन्दर थापा र डा। एञ्जिला बस्नेतले अस्पालका सेवा सुविधाबारे जानकारी गराएका थिए । मन्त्री थापाले वार्डमा पुगेर विरामीसँग स्वास्थ्य सेवाबारे जानकारी समेत लिएका थिए । मोलेले अस्पतालाई कुनै सहयोग नभएको गुनासो गरेका थिए । क्रिस्टियन मिसनले सञ्चालन गरेको अस्पताल कसरी दर्ता भएर सञ्चालित छ भनेर मन्त्री थापाले जिज्ञासा राखेका थिए । काभ्रे क्षेत्र नं ३ का सांसद कञ्चनचन्द्र बादेले काभ्रेमा मुटुसम्बन्धी रोगी बढिरहेको जानकारी दिँदै विशेषज्ञ सेवा अभाव  भएको जानकारी गराएका थिए ।

बुडोलस्थित आँखा अस्पताल पुगेर उनले अस्पताल सञ्चालक समिति अध्यक्ष मधुप्रसाद आचार्य, सचिव हिरामणि शर्मासँग जानकारी लिएका थिए । अस्पतालले काभ्रे लगायतका मध्यपहाडी जिल्लामा सेवा दिइरहेको छ । सांसद बादेले जिल्ला अस्पताल नभएकाले समस्या भएको जानकारी गराएका थिए ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले सामुदायको सकृयतामा अस्पतालले दिइरहेको सेवाको प्रशंसा गरे । उनले सामुदायिक अस्पतालहरुसँग सहकार्य गरेर जनतामा स्वास्थ्य सेवा दिन सरकार अग्रसर रहेको बताए । उनले सामुदायिक अस्पतालको विकास र विस्तारमा सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us