Wednesday, 31 August 2016

नेपालमा हरेक चार वर्षमा वैशाख १२ को जत्रै भुँईचालो !

काठमाडैं । १५ दिन यता मात्रै काभ्रे, चितवन, अर्घाखाँची, बाग्लुङ, नवलपरासी, बैतडी लगायत ठाउँमा भएका गाडी दुर्घटनामा ७१ जनाको ज्यान गयो । सयजना भन्दा धेरै घाइते भए । घाइतमध्ये कतिपय अझै पनि अस्पतालमै छन् ।

गएको वर्ष देशभरमा १५ सय दुर्घटनामा २४ सय जनाको ज्यान गएको थियो । यसलाई आधार मान्दा पनि ४ वर्षमा ९ हजार ६ सय जनाले सडक दुर्घटनामा ज्यान गुमाउछन् । २०७२ साल वैशाख १२ गतेको ७ दशमलव ८ स्केटरस्केलको भुइँचालोमा परि झण्डै ९ हजार जनाले ज्यान गुमाएका थिए । तर ट्राफिक प्रहरीका अनुसार दिनमा औषत ६ जनाको सडक दुर्घटनामा ज्यान जाने गरेको छ । यसलाई हिसाव गर्दा गाडी दुर्घटनाका कारण हरेक ४ वर्षमा ७ दशमलव ८ रेक्टरस्केलको भुईचालोमा जतिनै मानवीय क्षति हुने गरेको छ ।

ठूला दुर्घटना लगत्तै विज्ञप्ति निकालेर दुःख व्यक्त गर्ने, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्न सरकार तथा दलहरुबिच होडबाजी नै चल्ने गरेको छ । तर त्यो होडबाजी विज्ञप्ति निकालेको मितिसंगै विस्तारै पुरानो हुँदै जान्छ र ओझेलमा पर्न थाल्छन् सडक सुरक्षाका विषय पनि । 

सरकार प्रमुख वा विभागीय मन्त्रीले दुर्घटनाबाट आफू दुखी भएको बताउने गरेका त छन् तर त्यसलाई कम गर्नेबारे प्रभावकारी कदम भने चाल्न सकेका छैनन् । दलहरुका विज्ञप्तिमा दुर्घटना कम गर्न चाल्नुपर्ने कदम र यसका दोषीलाई सजायको कठघरामा कसरी उभ्याउने लगायतबारे कुनै सुझाव उल्लेख गरिएको हुँदैन ।

हवाई दुर्घटनामा नेपालमा बार्षिक सरदर ५० जनाले ज्यान गुमाउँछन् भन्ने मान्ने हो भने ५० वर्षमा मात्रै २५ सय जनाको ज्यान जान्छ । तर मानवीय क्षतिका हिसावले साना भएपनि हवाई दुर्घटना लगत्तै छानबिन आयोग बन्छन् र प्रतिवेदन बुझाइन्छ । तर सडक दुर्घटनाबाट हुने क्षति हवाई क्षेत्रको भन्दा धेरै हुँदाहुँदै पनि सडक दुर्घटनाको कम महत्व हुन्छ । 

दुर्घटना कम गर्न सडक विभाग, यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, ट्राफिक प्रहरी, सक्रिय भएको बताउँछन् । यस्तै यातायात व्यवसायीका विभिन्न समितिपनि यहि काममा सक्रिय रहेको दाबी गर्छन् । नीति–नियम पनि नभएको होइन । तर यसको कार्यान्वयन गराउन जिम्मेवार पक्षबिच संयोजन हुन सकेको छैन ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us