Thursday, 11 August 2016

नेपालीको प्रमुख श्रम गन्तब्य साउदीले १४ वर्षभित्र ४० लाख विदेशी कामदार कटौति गर्ने

काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तब्य मुलुक साउदी अरेबियाले तेलमा निर्भर अर्थतन्त्रलाई सच्याउँदै आफ्नै देशका नागरिकलाई रोजगारीमा प्राथमिकता दिने नीति ल्याएको छ । ‘साउदी भिजन २०३०’ नाम दिइएको यो नीतिले विदेशी कामदारमाथिको परर्निभरता घटाउने लक्ष्य राखेको छ ।

तेलको मुल्यमा गिरावटका आउँदा समस्यमा परेको अर्थतन्त्रलाई बलियो बनाउन भन्दै साउदीले २०३० सम्मका लागि नयाँ रोजगार नीति लिएको हो । जसअनुसार साउदी सरकारले विभिन्न क्षेत्रमा कार्यारत विदेशी कामदारलाई कटौति गर्दै लैजाने योजना छ ।

तोकिएको अवधिसम्म साउदीले ४० लाख स्वदेशी नागरिकलाई रोजगारी दिने योजना बनाएको हो । साउदी सरकारले अबको १४ वर्षभित्र सार्वजनिक तथा निजी कम्पनीहरुलाई ४० लाख नागरिकलाई रोजगारी दिने गरी काम थाल्न निर्देशन दिएको छ ।

साउदीमा थुप्रै नेपाली कामदार निजी क्षेत्रमा कार्यारत छ । पछिल्लो समयमा नेपालीको पहिलो श्रम गन्तब्य मुलुक बनेको साउदीको यो योजना सफल भएमा सबैभन्दा ठूलो असर नेपाली श्रम बजारलाई नै पर्नेछ । साउदीमा पछिल्लो समयमा उत्पन्न आर्थिक मन्दीको असर नेपाली श्रम बजारमा पर्न सुरु भइसकेको छ ।

झण्डै ८० लाख साउदीका नागरिकलाई यस्ता क्षेत्रमा रोजगारी दिन अहिलेकै अवस्थमा सजिलो भने नभएको अध्ययनहरुले देखाएका छन् । तर, साउदी सरकार यसमा दृढ देखिएको छ ।

साउदीमा प्रत्येक ३ लाख नागरिक श्रम बजारमा आउन योग्य हुन्छन् । तर, झण्डै एक लाख ५ हजारले मात्रै रोजगारीको बाटो समात्छन् । अहिले करिब ६४ लाख साउदी अरेबियन नागरिक देशभित्रै विभिन्न क्षेत्र क्षेत्रमा कार्यरत छन् । साउदीका निजी कम्पनीमा काम गर्ने मध्ये १६ प्रतिशत मात्रै स्वदेशी हुन् ।

साउदीले दुरसञ्चार क्षेत्रमा विदेशी कामदार पूर्ण रुपमा हटाउने गरी काम थालिसकेको छ । अबको सेप्टेम्बरको सुरुवातबाट दूरसञ्चार क्षेत्रमा साउदी बाहेकका देशका कामदार हुने छैनन् । यसकारले यसलाई नीति बनाएर निर्देशन दिएको थियो ।

अहिले निःशुल्क प्राविधिक तालिम चलाएर दूरसञ्चार क्षेत्रमा आफ्ना नागरिकलाई भर्ति गर्ने क्रम चलिरहेको छ । तर, यो नीतिले दक्ष कामदार नपाएर कतिय कम्पनीहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

यसैगरी साउदीको स्वास्थ्य मन्त्रालयले अबको १४ वर्षमा स्वास्थ्य क्षेत्रबाट विदेशी कामदार हटाइसक्ने लक्ष्य लिएको छ । एक लाख साउदी नागरिकलाई स्वास्थ्य क्षेत्रमा रोजगारी दिने गरी यस्तो योजना तयार भएको हो ।

नागरिकलाई स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको तालिम दिएर यसतर्फ आकषिर्त गर्दै आप्रवासी कामदार हटाउँदै लैजाने दावी गरेको छ ।

अहिले साउदीका विभिन्न अस्पतालमा ८१ हजार ५ सय डक्टर कार्यरत छन् । यसमा १९ हजार मात्रै स्वदेशी रहेको समाचारमा उल्लेख छ । एक लाख ६५ हजार नर्स मध्ये ६१ हजार ५ सय मात्र साउदीका नागरिक हुन् । २२ हजार फार्मसिस्ट मध्ये ४ हजार ५ सय मात्रै साउदीका रहेको अरब न्युजले जनाएको छ ।

मेडिकल क्षेत्रमा काम गर्ने ९४ हजार ९ सय मध्ये ६८ हजार ९ सयमात्रै स्वदेशी कामदार हुन् । अब सरकारले बनाएको योजना अनुसार आप्रवासी कामदारले सन् २०३० सम्म कामबाट हात धुनुपर्नेछ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us