काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दुतको रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले आज भारतको भ्रमणमा जाने भएका छन् । उनी आज अपरान्ह दिल्ली प्रस्थान गर्नेछन् ।
मन्त्रिपरिषद्को बैठकले निधीलाई विशेष दुतको रुपमा भारत पठाउने निर्णय गरेको एक साता पछि उनी भारत भ्रमणमा निस्किने भएका हुन् ।
निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरुसँग वार्ता गर्ने छन् । यसबाहेक निधीले भारतिय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग पनि भेट वार्ता गर्ने छन् ।
यस्ता छन् एजेण्डा
गृहमन्त्री निधीका प्रमुख तीन एजेण्डा रहेका छन् । पहिलो, नयाँ सरकार भारतसँग राम्रो सम्वन्ध छ भन्ने सन्देश दिने हो । यस अगाडि नै अघिल्लो सरकारले छिमेकी मुलुकहरुसँग असन्तुलित सम्वन्ध कायम गरेको र नयाँ सरकारले त्यसलाई ट्रयाकमा ल्याउन उनी गएको बताइएको छ ।
दोस्रो मधेसवादी दलहरुको माग सम्वोधन गर्न नयाँ सरकार तयार छ भनी भारतिय पक्षलाई आश्वस्त पार्नु ।
निधीको अर्को मुख्य एजेण्डा भनेको प्रधानमन्त्री दाहालको भ्रमणलाई तय गर्नु । भ्रमणको टुंगो भने निधीको भ्रमणको समयमा लाग्ने बताइएको छ ।