Monday, 29 August 2016

सगरमाथा चढेको भनेर ढाँट्ने भारतीय दम्पत्तिलाई नेपालमा १० वर्ष प्रतिबन्ध

काठमाडौं । सगरमाथा आरोहण गरेको झुठो दाबी गर्ने भारतको पुणे सहरका एक प्रहरी दम्पत्तिलाई नेपालमा १० वर्ष प्रतिबन्ध लगाइएको छ । गत मे २३ मा सगरमाथाको सफल आरोहण गरेको भनेर ती दम्पत्तिले दाबी गरे पनि उक्त दाबी झुठो भएको पुष्टि भएको छ ।

पुणे प्रहरीमा कन्सटेबल रहेका ३० वर्षीय दिनेश र तार्केश्वरी राठौरले गत जुन ५ मा पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुले सफलतापूर्वक सगरमाथाको आरोहरण गरेको र यसो गर्ने आफूहरु पहिलो भारतीय दम्पत्ति भएको दाबी गरेका थिए । उनीहरु पुणे प्रहरीको शिवाजीनगर प्रहरी हेडक्वाटरमा कार्यरत छन् ।

पुणे प्रहरीका कमिस्नर रश्मी शुक्लाले इन्डियन एक्सप्रेससँग कुरा गर्दै नेपाल सरकारले उनीहरुलाई १० वर्षका लागि नेपाल प्रवेशमा रोक लगाइएको पुष्टि गरेकी छिन् । नेपाली अधिकारीहरुले यसबारेमा पुणे प्रहरीलाई पत्र पठाएको उनले बताएकी छिन् ।

‘नेपाल सरकारले दुई जनाले ढाँटेको भनेर पुष्टि गरेको छ । दुवैले प्रहरीको मात्र नभएर देशकै छवी धुमिल बनाएका छन्,’ उनले भनिन् । उनले दुवै माथि कडा कारवाही गरिने बताइन् ।
इन्डियन एक्सप्रेसका अनुसार उनीहरु पक्राउ नपरे पनि उनीहरुको घटुवा वा बढुवा रोक्का हुन सक्ने बताएका छन् ।

के थियो मामिला ?

दिनेश राठौर र तार्केश्वेरी राठौर दम्पत्तीले २३ मेमा सगरमाथा आरोहण गरेको दाबी गरेको थियो । तर केही सगरमाथा आरोहीहरुले उनीहरुको दाबी झुठो रहेको भन्दै उनीहरु सगरमाथाको चुचुरोमा नपुगेको आरोप लगाएका थिए । राठौर जोडीले सगरमाथाको टुप्पोमा खिचेको भनिएको तस्विर फोटोसपबाट बनाइएको उनीहरुको दाबी थियो ।

यता तार्केश्वरीले आफ्ना श्रीमान्सँग सगरमाथाको चुचुरोमै पुगेको बताएकी थिइन् । २३ मेमा सगरमाथा आरोण गरे पनि राठौरले जून ५ मा पत्रकार सम्मेलन गर्दै सगरमाथा पुग्ने सपना साकार भएको बताएका थिए ।

तर, पुणेका एक आरोही सुरेन्द्र सिल्केले उनीहरुको दाबीमाथि प्रश्न उठाए । उनी उनीहरुले सगरमाथा चढेको मान्न तयार थिएनन् । सुरेन्द्र पनि यस सिजनमा सगरमाथा आरोहण गर्नका लागि आएको भारतीय टोलीका एक सदस्य थिए । उनका अनुसार यो जोडीले आधार शिविरमा खिचेको तस्विरमा छुट्टै कपडा तथा चुचुरोमा खिचेको तस्विरमा छुट्टै कपडा लगाएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us