Wednesday, 31 August 2016

चितुवा आतंक : दिनहुँ ठटाइन्छ मादल, थाल र ताउलो ९ को मृत्यु, ६ घाइते

अर्घाखाँचीेको खाँचीकोटकी ८ वर्षीया अस्मिता मुखिया मंगलबार साँझ घरको पिँढीमा बसेर पढदै थिइन् । चितुवाले झम्टियो । अस्मितालाई चितुवाको पञ्जाबाट खोस्न गाउँले होहल्ला गर्दै पछि–पछि दौडिए, तर उनलाई बचाउन सकेनन् । चितुवाले उनलाई जंगलतिर लग्यो ।   

खाँचीकोटमै आइतबार साँझ घरको आँगनमा रहेकी ५ वर्षीया ललिता विकलाई चितुवाले आक्रमण गर्‍यो । ‘छोरी घरबाट बाहिर पिसाब गर्न निस्केकी थिइन्,’ ललिताकी आमा लक्ष्मीले भनिन्, ‘मम्मी भनेर चिच्याएको आवाज आयो । हत्त न पत्त बाहिर निस्कें । आँखै अगाडि छोरीलाई लिएर चितुवा दौडियो ।’

अर्घाखाँचीको खाँचीकोटमा चितुवाको आक्रमणबाट दुई बालिकाको मृत्यु भएपछि प्रहरी र गाउँले चितुवा खोज्दै जंगलमा । प्रहरी निरीक्षकको नेतृत्वमा सात प्रहरी खाँचीकोटको जंगलमा चितुवाको खोजीमा हिंडेका छन ।
सदरमुकाम अर्घाखाँचीसँग जोडिएको खाँचीकोट र कुरका गाउँले चितुवाबाट आतंकित छन् । साँझ पर्नासाथ कतिबेला चितुवाले आक्रमण गर्ने भन्ने त्रासमा रहन्छन् गाउँले सधैं । गाउँ नजिक त्यति घना जंगल पनि छैन, तर चितुवा भने लुक्न सक्छ । दुई वर्षयता यी गाउँमा चितुवा आतंक जारी छ । यस अवधिमा १५ बालबालिका चितुवाको आक्रमणमा परेका छन्, जसमा ९ जनाले ज्यान गुमाएका छन् भने ६ घाइते छन् । 
अहिलेसम्म बालबालिका मात्रै चितुवाको निसानामा परेका छन् । ‘दिउँसै पनि एक्लै हिँड्न मुस्किल छ,’ खाँचीकोटका शिक्षक नारायण केसीले भने । गाईबाख्रा चराउन वनमा गएका बेला गोठालाले चितुवा जंगल र ओडारमा लुकेर बसेको देख्ने गरेका छन् । साँझ पर्नासाथ गाउँलेले आ–आफ्नो घरमा शंख, मादल, थाल र ताउला बजाउन थालेपछि ६ महिना जति देखा परेको थिएन । तर आइतबार र मंगलबार फेरि बालिकामाथि आक्रमणको घटनाले त्रास फैलिएको खाँचीकोटका मेहरसिंह केसीले बताए । साँझ नपर्दै ढोका लगाएर बस्नुपर्ने र रातमा दिसापिसाब पनि घरभित्रै गर्नुपर्ने बाध्यता भएको गाउँलेले बताए ।
जिल्ला वन अधिकृत बलिराम पण्डितले जंगलमा आहारा नपाएपछि चितुवा गाउँ पसेको हुन सक्ने बताए । चितुवाको आक्रमणबाट मानवीय क्षति मात्रै भएका छैनन्, दुई वर्ष अवधिमा ६ चितुवा मरेका छन् । खाँचीकोट, कुर, फुदवाङमा जंगल र खोलामा मृत भेटिएका थिए । ती खान नपाएर र बूढो भएर मरेको हुन सक्ने अनुमान वनकर्मीले गरेका छन् । 



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us