Monday, 29 August 2016

गगन थापा मन्त्री बनेपछि लोकमानसिंह विरुद्धको प्रस्ताव फिर्ता


काठमाडौं ।  सत्तासीन कांग्रेस र माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि संसद्मा छलफल गराउन नहुने अडान लिएपछि उक्त प्रस्ताव रद्द भएको छ ।

सभामुख ओनसरी घर्तीद्वारा गठित प्रस्ताव छनोट समितिमा कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले संवैधानिक निकायका पदाधिकारीविरुद्ध ध्यानाकर्षणको प्रस्तावमा छलफल गर्न संसद् नियमावलीले नदिने भन्दै कार्कीविरुद्धको प्रस्ताव अघि बढाउन नहुने अडान राखेका थिए ।

कांग्रेस सांसद (हाल स्वास्थ्यमन्त्री) गगन थापा प्रस्तावक, कांग्रेसकै धनराज गुरुङ र माओवादी केन्द्रको कोटामा मन्त्रिपरिषद्बाट सांसद नियुक्त भएका श्याम श्रेष्ठ समर्थक रही चिकित्सा क्षेत्रको समग्र सुधार र अख्तियार प्रमुख कार्कीविरुद्ध डा। गोविन्द केसीले लगाएका आरोपका विषयमा छलफल गर्नुपर्ने भन्दै भदौ ६ गते संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको थियो ।

उक्त प्रस्ताव छलफलमा लैजाने वा नलैजाने भन्नेमा निर्णय गर्न गठित समितिमा सत्तासीन कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले उक्त प्रस्ताव छलफलमा नलैजाने निर्णय बहुमतले गरेका हुन् । कांग्रेस सांसद मीन विश्वकर्मा संयोजक रहेको समितिमा कांग्रेसका रामकृष्ण यादव, एमालेका गोकुल घर्ती र रवीन्द्र अधिकारी, माओवादी केन्द्रकी सीता नेपाली, राप्रपा नेपालकी कुन्तीकुमारी शाही, संघीय समाजवादी फोरम नेपालका डिलबहादुर नेपाली, फोरम लोकतान्त्रिककी गीता राना क्षेत्री र राष्ट्रिय प्रजातन्त्र पार्टीकी राज्यलक्ष्मी श्रेष्ठ सदस्य छन् ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरूको उक्त निर्णयमा एमाले सांसद अधिकारीले फरक मत लेखेका छन् । कि प्रस्ताव दर्ता गर्नु हुँदैनथ्यो । गरिसकेपछि छलफलमा लैजानुपर्छु भन्दै एमाले सांसद अधिकारीले फरक मत लेखेका थिए । जबाफमा समिति संयोजक विश्वकर्माले उक्त प्रस्तावमाथि छलफल गर्ने नभई फिर्ता गराइने जानकारी समितिमा गराएका थिए । माओवादी केन्द्रकी परियारले पनि उक्त प्रस्ताव छलफलमा लैजान नहुने अडान लिएकी थिइन् ।

संवैधानिक निकायका पदाधिकारीका विषयमा ध्यानाकर्षण गराउने विषय संसद्को नियमावलीको परिधिभित्र नपर्ने भएकाले उक्त प्रस्तावलाई मुल्तबीमा राखेका हौुं, संयोजक विश्वकर्माले भने, कि त महाभियोग भनेर प्रस्ताव आउनुपर्छ, नत्र ध्यानाकर्षणमात्र गराउन मिल्दैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us