घोराही । गाउँमा भएको आपसी झगडामा गोली चल्दा दाङमा दुईजनाको मृत्यु भएको छ। मदिरा सेवन गर्ने क्रममा झगडा भएपछि गढवा–५, खबरी गाउँका कर्णबहादुर पुनले भरुवा बन्दुक चलाएका थिए। त्यस क्रममा गोली लागेर सोही गाउँकै दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार गएराति गाउँमा तिजको दर खाने कार्यक्रममा सहभागी स्थानीय कर्णबहादुर, राजु रोका र कालु रोकासँगै बसेर मदिरा सेबन गरिरहेका थिए। उनीहरुबीच पटकपटक विवाद हुँदै आएको थियो। मदिरा खाइसकेपछि विवाद झनै बढेको स्थानीय बताउँछन्। त्यसपछि कर्णबहादुरले भरुवा बन्दुक झिकेर गोली हानेका थिए।
एसपी सिंहका अनुसार गोली लागेर गम्भीर घाइते भएका कालु रोकालाई उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने अर्का घाइते राजुको सोमबार बिहानै मृत्यु भएको हो। घटनापछि कर्णबहादुर फरार छन्। उनको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी दिए। उनले जिल्लाका सबै नाकाहरु सिल गरेर अभियुक्तको खोजी भइरहेको बताए। घटनामा मृत्यु हुने र अभियुक्त सबै एउटै उमेर समूह ३२ वर्षका छन्।
‘पहिलादेखि कै विवाद रहेछ भन्ने बुझिएको छ, पहिला नै रक्सी खाने ठाउँम बन्दुक पनि लुकाएर राखेको रहेछ,’ एसपी सिंहले भने,‘घटनाको बारेमा अनुसन्धान भइरहेको छ, अभियुक्तको खोजी पनि तीब्र बनाएका छौं।’