महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक २४ घन्टामा न्यूनतम १० देखि अधिकतम १२/१५ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रमुख डा मणिष पाण्डेले बताएका छन् ।
गर्मी र वर्षायामअघि कहिलेकाहीँ फाटफुट रुपमा सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनाको अनुपातमा सर्पदंशका बिरामी उपचारका लागि आउन थालेको अस्पतालका मेडिकल अधिकृत डा राजीव झाले बताए ।
जलेश्वर अस्पतालमा आउने सर्पदंशका बिरामीमध्ये अधिकांश विषालु करैत सर्पले टोकेको आउने गरेका छन् भने कोही कोही गोमन र अन्य सर्पले टोकेका बिरामी तथा कोही कोही विष नलाग्ने सर्पले टोकेका बिरामी पनि आउने गरेको अस्पताल प्रमुख पाण्डे बताउँछन् ।
सर्पदंशको बिरामीलाई उपचार गर्ने क्रममा एउटा बिरामीलाई पाँच/सातदेखि १०÷१२ र कसैकसैलाई विषको मात्राका आधारमा ३०÷४० भाइल एन्टिस्नेक भेनम नामक सर्पदंशविरुद्धको औषधि दिनुपरेको डा पाण्डेले बताए ।
उनले जिल्ला अस्पताल जलेश्वरमा एन्टिस्नेक भेनम पर्याप्त मात्रामा रहेको र समयमै अस्पतालमा आइपुग्ने बिरामी कोही पनि सर्पदंशका कारण मर्न नसक्ने अवस्था रहेको उल्लेख गरे ।
महोत्तरी र धनुषा तथा सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारका कैदीबन्दीमा केहि दिनदेखि ठेउला र दादुराको प्रकोप देखा परेको छ ।
कारागारका जेलर शोभेन्द्र ठाकुरका अनुसार बढ्दो गर्मी र फाटफुट रुपमा परेको पानीका कारण जलेश्वर जेलभित्रका दुई दर्जन बढी कैदीबन्दीमा ठेउला र दादुराको सङ्क्रमण भएको छ ।
उनले १३५ जना कैदीबन्दी राख्ने क्षमता रहेको सो कारागारमा ३९ महिला र ३३९ पुरुषसहित ३७८ जना कैदीबन्दी रहेको जानकारी दिए ।