Saturday, 27 August 2016

क्रिकेटका नाममा मानवतस्करी, टोकियो विमानस्थलबाट गैरखेलाडी बेपत्ता

काठमाडौं । मैत्रीपूर्ण क्रिकेट खेलका लागि जापान लगेर उतै छाडिएका गैरखेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैरखेलाडी त्यसपछि एकाएक गायब भएका थिए ।

जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडीमध्ये दुईजना मात्रै साथमा थिए । बाँकी सातमध्ये केही विमानस्थल र केही बाटोबाट अन्यत्रै लागेको स्वदेश फर्किएका खेलाडीले बताएका छन् । जापान पुगेर फर्किएका उनीहरूले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र सिनियर राष्ट्रिय टोलीले सोधेको लिखित जबाफमा समेत गैरखेलाडी विमानस्थलबाटै गायब भएको जानकारी दिएका छन् ।

ुहामी सात खेलाडी र हामीले चिनेका दुई अफिसियल विमानस्थलबाट होटेल पुग्दा अन्य नौजनामध्ये दुई मात्रै हामीसँग थिए । बाँकी सातजना बाटोबाटै हराइसकेका थिएु, जापान पुगेर फर्किएकामध्ये एक खेलाडीले नाम नलेख्ने सर्तमा भने, उनीहरूमध्ये केही विमानस्थलबाटै गायब भएका थिए । दुईतीनजना भने बाटोमा गाडी रोकेर निस्किएका थिए । ती खेलाडीका अनुसार विमानस्थल र बाटोबाटै गायब भएका कुनै पनि गैरखेलाडी खेल खेल्न आएनन् भने टोलीको जापान बसाइमा उनीहरूसँग दोस्रोपटक भेटसमेत भएन ।

टोलीसँगै बसेका दुई गैरखेलाडीले भने जापानका स्थानीय टोलीविरुद्ध तीन खेलमध्ये दुई खेल खेलेका थिए । ती खेलमध्ये एकले दुई खेल तथा अर्का एकले एक खेल मात्रै खेलेका थिए । ती दुईजना पनि खेल समाप्त भएपछि टोलीसँगै नेपाल फर्किएनन् । प्रतियोगिता खेल्न गएकाहरू बाटैबाट गायब भएपछि टोलीसमेत अपूरो बनेको थियो । त्यसैले अन्तिम दुई खेलमा टोली व्यवस्थापक बनेर गएका किरण राणाले खेल्नुपरेको थियो ।

त्यसअघि नै जापानमै रहेका राष्ट्रिय टोलीका पूर्वखेलाडी राजकुमार प्रधान र उनले बोलाएका अन्य साथीले समेत नेपाली टोलीबाट प्रतियोगिता खेलेका थिए । सँगै गएका खेलाडी बाटोबाटै हराए पनि टोली व्यवस्थापनले सोधखोज नगरेको देखिएको छ । नेपाली टोलीसँगै गएका नेपाली सिनियर राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनी तथा यू १९ राष्ट्रिय टोलीका खेलाडी प्रेम तामाङ, सौरभ खनाल, रामनरेश गिरी, फजलुर रहमान, अमित श्रेष्ठ र राष्ट्रिय खेलाडी सोनु तामाङ भने नेपाल फर्किएका छन् । उनीहरूसँगै टोली प्रशिक्षकका रूपमा गएका सुन्दर थापा क्षेत्री र व्यवस्थापकका रूपमा गएका किरण राणा पनि फर्किएका छन् ।

खेलाडीकै रूपमा लगिएका अन्य नौजना भने टोलीसँगै नफर्किएपछि सरोकारवाला निकायले त्यसको छानबिन सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले जापान खेल्न गएकोबारे खेलाडीसँग लिखित स्पष्टीकरण सोध्न प्रशिक्षक जगत टमाटालाई निर्देशन दिएको छ भने युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले पनि आन्तरिक छानबिन सुरु गरेको बताएका छन् । मैत्रीपूर्ण खेल खेल्ने टोली गत १५ जुलाईमा जापान गएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us