Tuesday, 16 August 2016

ढाड भाँच्चिएर अस्पताल पुग्दा पनि मानसिक यातना

काठमाडौं । दुवै खुट्टा, एक हात र ढाँड भाच्चिएकी बुटवलकी ३९ वर्षीया संगीता बिक ओमनमै छिन् । उनको रुस्ताक अस्पतालमै उपचार भइरहेको छ । उनका स्पोन्सरले अस्पतालमै गएर दिनहुँ जसो धम्काउने गरिरहेको छ । ‘तँलाई यही मारेर मात्रै पठाउँछु । त अब यही मर्छस्’, उनको स्पोन्सरले धम्की दिने गरेका छन् । पीडित खुलेर कुराकानी गर्न डराइरहेको गैरआवासीय नेपाली संघ ओमनका अध्यक्ष दीपक श्रेष्ठले बताए ।

उनी काम गर्ने क्रममा भर्‍याङबाट लडेकी थिइन् । शारिरीक, मानसिक यातना दिएपछि केही महिनादेखि बिकले काम गर्न सकिरहेको थिइनन् ।  उनको सबै कागजात स्पोन्सरले खोसेर लगेका छन् । स्पोन्सरको परिचय खुल्न सकेको छैन ।

‘उनी तनावको अवस्थामा छिन् । जतिसक्दो चाडो उद्दारको आवश्यकता देखिन्छ’, उनले भने । दुबईमा पुगेकी बिकलाई दलालले ओमन जान बाध्य पारेका थिए ।

ऋणमाथि ऋण

‘ऋणमाथि ऋणमै डुब्ने भो । ज्यान भए त ऋण तिरौंला’, अनिता महर्जन यतिखेर फोनमा भनिरहेकी हुन्छिन्,‘जसरी भए पनि जानुपर्छ । ऋण लागे पनि लागोस् । दिन चाँही नलगोस् ।’

छाउनी १३ काठमाडौंकी ४८ वर्षीया महर्जन पायल्सको रोगी भए पनि ओमनबाट निस्कन पाएकी छैनन् । समयमै उपचार नपाएर ज्यान ज्याने डरले उनलाई सताउन थालेको छ । उनी राजधानी मस्कटस्थित एक प्रहरीको घरमा काम गर्दै आएकी छन् ।

उनी एक बर्ष अघि संयुक्त अरब इमिरेट्सस्थित दुबईमा काम गर्न पुगेकी थिइन् । त्यसको लागि दलाल अन्जु अधिकारीलाई ५० हजार रुपैयाँ तिरेकी थिइन् । दुबई पुगेपछि अर्का दलाल ठाकुर काफ्लेले निअमा लेबर रिक्ऱ्युटमेन्ट कम्पनीमा पुर्‍याए । यो कम्पनीले घरेलु कामदारको आपूर्ति गर्छ । त्यहाँ दुई महिना राखेपछि ओमनमा काम गर्न जान दवाव दिएको उनले बताइन् ।

‘दुबई पुगेपछि पायल्सबाट ग्रसित हुन थालेँ । त्यतिखेर नै स्वदेश फर्किन चाहेको थिएँ’, उनले भनिन,‘दलालले फर्किने भए डेड लाख रुपैयाँ बुझाउन पर्छ भने । त्यो रकम बुझाउन नसकेपछि ओमन जानुपर्‍यो ।’

घरको काम गर्न जान नमान्दा ओमनको एजेन्टको अफिसमा धेरै पटक कुटाई खानुपरेको उनले बताइन् । ‘घरको काम गर्दा रोगले थप च्याप्न थाल्यो । अस्पतालमा उपचार पनि गराइयो । डाक्टरले घाउ निकै ठूलो भएकोले अप्रेशन गर्नुपर्ने बतायो । घर पठाउनुको सट्टा कम्पनीले नयाँ मालिकको घरमा काम गर्न पठाएको छ’, उनले भनिन, ‘म स्वदेश फिर्न चाहन्छु । यसबारे दूतावाससँग नियमितजसो सम्र्पकमा भएपनि आशा गरे अनुसार प्रक्रिया अगाडि बढेको छैन ।’




About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us