Saturday, 20 August 2016

वन्द होटल खुलाउन विनोद चौधरीको प्रधानमन्त्री निवासमा तारन्तार फोन

चितवन । चितवनमा रहेको चौधरी ग्रुपको होटल मेघौली सेराई छेउमा गत साउन २५ गते एक वयस्क पोथी गैंडाको करेन्ट लागेर मृत्यु भयो । होटलको लापरबाहीका कारण गैंडाको मारिएको पुष्टि भएपछि होटल बन्द गरिएको छ । होटल सेराईले नजिकैको राप्ती नदीमा पर्यटकलाई मनोरञ्जनका लागि तैरने व्यवस्था मिलाउन ड्रम राख्न वेल्डिङ गर्ने काम गरिरहेको स्थानमा गैंडा मृत अवस्थामा फेला परेको हो । 
वेल्डिङ गर्न लगिएको बिजुलीको तार त्यसै छाडेपछि राति करेन्ट लागेको हुनसक्ने स्थानीयले बताएका छन् । तर, वेल्डिङको सामान भने लुकाइएको थियो । गैंडाको पोस्टमार्टमपछि करेन्ट लागेर मरेको पुष्टि भएको छ । पोस्टमार्टमपछि गैंडा गाडिसकिएको छ ।
मैघौलीमा रहेको थ्री स्टार होटल बन्द भएपछि यतिखेर चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी तनावमा परेका छन् । बन्द होटल खुलाउन अर्बपति चौधरीले दिनहुँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिनहुँ फोन गरिरहेका छन् । उनले बिहीबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा फोन गरी आफ्नो बन्द होटल खुलाइदिन आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सो विषय निकुञ्जको क्षेत्राधिकारभित्र पर्ने भएकाले यसमा आफूले के भइरहेको छ, बुझ्ने जानकारी दिएको स्रोतले बतायो । यदि खाग तस्करसँगको मिलेमतोमा गैंडा मारिएको पुष्टि भए चौधरी ग्रुपको सो होटल बन्द हुन सक्ने छ । त्यसैले गर्दा चौधरीले अनुसन्धान प्रक्रियालाई प्रभावित पार्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेको हुनसक्ने बताइन्छ ।
निकुञ्ज प्रशासनले होटलमा काम गर्ने कर्मचारीको तस्करसँग मिलेमतो छ कि छैन भन्ने विषयमा अनुसन्धान गरिरहेको बुझिएको छ । गैंडा मारिएपछि चितवन राष्ट्रिय निकुञ्जले होटल बन्द गरी त्यहाँ कार्यरत नौजना कर्मचारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ परेकामध्ये दुईजना भारतीय नागरिक हुन् ।

तस्करहरूले गैंडाको खागका लागि यो दुर्लभ जनावरहरूलाई मार्ने गर्दछन् । तर, मृत गैंडाको खाग खुर भने सुरक्षित नै रहेको बताइएको छ । खाग तस्करी वा अन्य कारणबाट दुर्लभ वन्यजन्तु गैंडाको ज्यान लिएमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्ष कैद वा कैद र जरिवाना दुवै सजाय हुने कानुनी प्रावधान छ । यसअघि खेतमा करेन्ट लागेर गैंडा मरे खेतधनीलाई समाएर कारबाही हुने गरेको थियो ।

सोही कारण होटलकै लापरबाहीका कारण गैंडा मारिएकाले होटल व्यवस्थापनलाई कारबाही गर्ने तयारी भएको बुझिएको छ । निकुञ्जको क्षेत्राधिकारभित्र यो विषय पर्ने भएकाले प्रहरी प्रशासनले सो विषयमा कुनै जानकारी हुँदैन । त्यही कारण उद्योगपति चौधरीले होटल खुलाउन सिधै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको स्रोतको भनाइ छ ।

चितवन निकुञ्जमा नेपालमा सवैभन्दा धेरै एक सिंगे गैंडा पाइने निकुञ्ज हो । गैंडा हेर्नैका लागि देश विदेशबाट लाखौं पर्यटक चितवन आउने गर्छन् । तिनै पर्यटकलाई सुविधा दिन निकुञ्ज आडमा होटल खोल्ने क्रम बढेको हो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us