Wednesday, 31 August 2016

एमालेले सुरु गर्यो सरकार परिवर्तनको खेल , संविधान संशोधनको लागि प्रचण्ड सरकार विस्थापित गर्नुपर्ने शर्त

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनको लागि नयाँ शर्त तेर्साएको छ। सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र यतिवेला संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने भन्दै विभिन्न राजनीतिक दलहरुसँग आन्तरिक छलफलमा जुटेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनबारे सहमति जुटाउन भन्दै मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका नेताहरुलाई डाकेर छलफल नै गरे। तर छलफलमा एमालेका नेताहरु निकै आक्रोशपूर्ण तरिकाले प्रस्तुत भएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले औचित्य र कारण पुष्टि नभएसम्म संविधान संशोधनमा आफ्नो पार्टीले सहयोग नगर्ने स्पष्ट अडान सार्वजनिक रुपमै राखिसकेका छन्। अध्यक्ष ओली यतिवेला उपचारको लागि बैंककमा छन्। उनले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिएका छन्। 

प्रधानमन्त्रीले आह्वान गरेको तीन दलको बैठकमा एमाले नेताहरु नेता गौतमको अगुवाईमा बालुवाटार पुगेका थिए। तर बैठकमा संविधान संशोधनबारे आफ्नो पार्टी अहिले नै तयार नभएको स्पष्ट अडान उपाध्यक्ष भीम रावलले राखेका थिए। रावल र उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिवीच निकै भनाभन भएको थियो। जसको कारण मंगलबारको तीन दलको बैठक भाँडिएको थियो।

संविधान संशोधनको लागि प्रचण्ड सरकार विस्थापित्
एमालेले संविधान संशोधनको लागि प्रचण्ड नेतृत्वको सरकार विस्थापित गुर्नपर्ने भन्दै आन्तरिक गृहकार्य सुरु गरेको छ। उसले अहिलेकै अवस्थामा प्रचण्डको नेतृत्वको सरकारलाई संविधान संशोधनको जस लिन नदिने मनशाय बनाएको स्रोतको दाबी छ। त्यतिमात्रै नभएर, एमालेले काँगेससँग प्रचण्डलाई विस्थापित गरेर नयाँ गठबन्धन बनाउनुपर्ने र त्यसको नेतृत्व काँग्रेसले गरेपनि आफ्नो पार्टीलाई आपत्ति नहुने संकेत समेत दिएको छ।

प्रचण्ड भने यतिवेला संविधान संशोधनमा एमालेले सहयोग गर्नेमा विश्वस्त छन्। उनले एमालेभित्रकै संविधान संशोधनमा सकारात्मक एवम् लिवरल नेताहरुसँग आन्तरिक छलफल समेत थालेका छन् । संविधान संशोधन भए मधेशी मोर्चा लगायत असन्तुष्ट सबै पक्षले संविधान कार्यान्वयनमा पूर्ण सहयोग गर्ने उनको ठम्याई छ। हुन त प्रधानमन्त्री दाहालले स्थानीय निकायको चुनाव गर्नको लागि पनि गृहकार्य थालेका छन्। तर एमाले चुनावभन्दा पनि नयाँ गठबन्धन बनाउनुपर्नेमा अग्रसर देखिएको छ। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us