Saturday, 27 August 2016

बससँगै त्रिशुलीमा खसेका ६ जना अझै भेटिएनन्, चार शवको पहिचान भएन, १६ शव रौतहट पुर्‍याइयो

रौतहट । शुक्रबार बिहान त्रिशुलीमा भएको बस दुर्घटनामा परेकामध्ये अझै पनि ६ जना व्यक्तिको कुनै अतोपतो छैन । प्रहरीको तथ्याङ्कले चार जना बेपता देखाइरहँदा परिवारजनले भने ६ जना बेपता भएको दाबी गरेका छन् ।

भारतको बिहारका फेकु राय, राम प्रवेश रायका साथै रौतहटको मुडवलवा(२ का रामबालक जयसवाल, वडा नं ३ का रविरञ्जन यादव र वडा नं ८ का मुकेश रामको अझै पत्तो नलागेको परिवारजनका सदस्यले बताएका छन् ।

त्यस्तै गौरबाट पोखराका लागि हिँडेको ग १ ख ३७०१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करिब साढे ३ बजे त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको थियो । तर, प्रहरीले घटनास्थलमा भेटिएका १८ शवको सनाखत गरे पनि अझै ४ वटा शवको सनाखत हुन सकेको छैन ।

रौतहटका मृतकमध्ये १८ जनाको सनाखत भएको छ । सनाखत भएका मध्ये १६ शवलाई रौतहट ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ४ जना भारतीय सहित १२ जना रौतहटका व्यक्तिको शव परिवारजनले चितवनबाट ल्याएको प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले बताए ।

धार्मिक परम्परा अनुसार जिल्लाका विभिन्न स्थानहरुमा शनिबार नै १२ जनाको दाहसंस्कार गरिँदैछ । मुडवलवा ३ का ३५ वर्षीय चित्ररञ्जन यादव र मुडवलवा ६ का ३३ वर्षीय राजेशप्रसाद यादवको परिवारजनले शनिबार वाग्मती किनारमा दाहसंस्कार गरेका छन् ।

एउटै टोलका तीन जना बेपत्ता

यात्रु र चालक गरी ४२ जना सवार बस त्रिशुलीमा खस्दा रौतहट मुडवलवाको एकै टोलका ५ जनाको मृत्यु भएको थियो ।

बिहीवार साँझ ५:३० बजे गौरबाट पोखराका लागि छुटेको सो बसमा मुडवलाका ५ जना थिए । ५ मध्ये ४ जना विद्यालयका शिक्षक थिए भने एक जना निर्वाचन आयोगका करारका कर्मचारी थिए ।

पोखरामा शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका मुडवलवा २ का रामबालक जयसवाल, ३ का रविरञ्जन यादव र ८ का मुकेश रामको अझै कुनै पत्तो लागेको छैन ।

मुडवलवाकै ३ जना अझै बेपता रहेकाले उनीहरुको खोजी कार्यका लागि परिवारजनले अनुरोध गरेका छन् । मृतकहरु मध्ये अधिकांश घरका जेठा सन्तान र अभिभावक रहेकाले परिवारजन बेसहारा बनेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us