Tuesday, 23 August 2016

माओबादी केन्द्र भित्र बादलले मच्चाए रडाको, प्रचण्डसँग सम्बन्ध विच्छेद गर्ने तयारी

काठमाडौं । निकै तामझामसहित १० वटा माओवादी पार्टी र शक्ति मिलेर बनेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति पूर्णता नपाउँदै चोइटिने खतरा दिनप्रदिन बढ्दै आएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसका नेता प्रभु शाहलाई समेट्न नसकिरहेका बेला अन्य नेताले समेत उनलाई तनाब गराएका छन् । सांगठानिक संरचना निर्माण गर्दा आफ्ना मान्छेलाई उचित स्थान नदिएकोमा आक्रोशित माओवादीका संयोजक मातृका यादवले पार्टीबाट छुट्टिने धम्की दिएका छन् ।

कतिपय कार्यक्रम र बैठकसमेत बहिष्कार गर्दै आएका यादवले मुख्यत अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फरक मत दर्ज गराएका छन् । उनले अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनदेखि मन्त्री चयन गर्दासम्म कुनै सरसल्लाह नगरी आफूलाई एक्ल्याएको आरोप लगाउँदै आएका छन् ।

यादवले मधेसलाई हेर्ने दृष्टिकोण बनाउनुपर्नेमा पनि जोड दिएको बुझिएको छ । रामबहादुर थापा बादलमार्फत केन्द्रीय कार्यालयमा दर्ज गराइएको फरकमतमा अध्यक्ष प्रचण्डलाई प्रचण्ड छविलाल दाहाल बन्न सक्ने तर्फ सचेत गराइएको लाजिम्पाट स्रोतले बतायो ।

मुख्यतः अखिल क्रान्तिकारीको नेतृत्व निर्माण गर्दा आफ्ना कार्यकर्तालाई जिम्मेवारीविहीन बनाएपछि यादवले असन्तुष्टि पोख्न सुरु गरेका हुन् । प्रज्ञा भवन कमलादीमा विद्यार्थीहरुको एकता भेलाबाटै प्रचण्डमाथि प्रहार गरेका मातृकाका विद्यार्थी नेताले सोही मञ्चबाट अलग हुन सक्ने चेतावनी दिएका थिए । त्यसपछि सो एकता भेलामा उनलाई हुटिङ मात्रै भएन, उनले खादाको सम्मान पनि अस्वीकार गर्नुपरेको थियो ।

यता मन्त्री चयनदेखि एजेन्डा निर्माणसम्म कुनै सरसल्लाह नगरिएको भन्दै रामबहादुर थापा, मणि थापा र तिलक परियारहरु पनि असन्तुष्टि बनेका छन् । माओवादी केन्द्रमा के हुन्छ रु भन्ने केन्द्रीय कार्यालयका सदस्यहरुले समेत थाहा पाउन छाडिसकेका छन् ।

अध्यक्ष प्रचण्डले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मासँग मात्रै सरसल्लाह गरेर अघि बढ्न थालेपछि नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेल थप असन्तुष्ट हुन थालेको तरुणले जनाएको छ ।

त्यसमाथि श्रेष्ठ र पोखरेल समूहका धनिराम (डीआर) पौडेललाई विना विभागीयमन्त्री बनाई कुनै जिम्मेवारी नदिएकोमा दुवै नेता असन्तुष्ट छन् । त्यसैले नारायणकाजीलाई सरकार सञ्चालन समन्वय समितिको संयोजक बनाइएको छ ।  

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us