Wednesday, 24 August 2016

एक महिनादेखि बेपत्ता गाविस सचिव घरमै मस्ती गर्दैगर्दा भेटिए


पाँचथर। जिल्लाको दक्षिणी गाविस हाङ्गुमका सचिव केशव निरौला बेपत्ता भएको भनेर सबै खोजीमा जुटिरहेका बेला उनी आफ्नै घरमा फेला परेका छन् । ३२ दिनदेखि सम्पर्कविहीन बनेका निरौलाको खोजी गर्दैजाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला परेका हुन् ।

गाविस कार्यालयमा बिदा समेत नलेखेर एकाएक हराएका निरौलाका कारण स्थानीयले एक महिनादेखि सास्ती बेहोर्नु परेको थियो । खोज्दैजाँदा प्रहरीले गाविस सचिव निरौलालाई झापा जिल्लाको दुहागडी–१ स्थित घरमा फेला पारेको जनाएको छ । स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले जिल्ला प्रहरी कार्यालय पाँचथरलाई सचिव निरौलाको खोजी गरिदिन आग्रह गरेका थिए ।

आइतबार प्रहरीले घरमै रहेको जानकारी स्थानीय विकास अधिकारी धमलालाई दिएको छ ।

सचिव निरौला घरमा रहेको थाहा पाएपछि स्थानीय विकास अधिकारी धमलाले सम्पर्कविहीन भएर किन घरमा बसेको भनेर स्पष्टिकरणसहितको पत्र पठाएको प्रशासन फाँटका प्रमुख दुर्गाप्रसाद तिम्सिनाले बताए ।

सचिव निरौला साउन ६ गतेदेखि सम्पर्क विहीन भएका थिए । साउन १९ गतेदेखि निरौलाको जिम्मेवारी आरुबोटेका सचिव सञ्जय राईलाई दिइएको थियो । निरौला आफ्नो कार्यालयलाई जानकारी नै नदिई बेपत्ता भएको यो दोस्रो पटक हो ।

यसअघि निरौला सिदिनको गाविसको सचिव हुँदा करिब तीन लाख अनियमितता गरेर झन्डै तीन महिना सम्पर्क विहीन भएका थिए । निरौलाका विषयमा जिविस पाँचथरमा राम्रो रेकर्ड रहेको छैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us