Wednesday, 3 August 2016

मुटुरोगी छोरा बचाइदिन आमाको हारगुहार

बैतडी । आर्थिक अभावमा मुटुका बिरामी एक बालकको उपचार हुन सकेको छैन । खर्च अभावमा देहिमान्डौँ–८ मा बस्दै आएकी बसन्तीदेवी ऐरका ५ वर्षीय छोरा सञ्जीवको उपचार हुन नसकेको हो ।

श्रीमान र घरपरिवारले वास्ता नगरेपछि छोरासहित माइतीमा बस्दै आएकी ऐरका अन्य परिवार झलारीपिपलाडी नगरपालिका–११ कञ्चनपुरमा बस्ने गरेका छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि बिरामी छोरासहित उनी माइतीको आश्रयमा बस्दै आएकी छिन् । माइतीको अवस्था पनि झन् नाजुक छ । माइतीमा पनि बुबाको र भाइको पहिले नै मृत्यु भइसकेको र एक्ली ६२ वर्षीया आमा मात्रै हुनुहुन्छ ।

श्रीमान र घरपरिवारले छोराको उपचार गर्न कुनै वास्ता नगरेकाले वसन्ती माइतीको शरणमा बैतडी पुगेकी हुन् । छोराको जीवन जोगाईदिन उनले हारगुहार गरेकी छन् । विरामी बालक सञ्जीवका बुबा ज्ञानेन्द्रबहादुर ऐर बेरोजगार छन् । मेरो र छोराको हेरचाह नगर्ने र वास्ता गर्न छोडेपछि विगत ३ वर्षदेखि माइतीमा बस्दै आएको वसन्तीले बताइन् । उनको माइतीको अवस्था पनि दयनीय छ, घरमा आमा मात्रै एक्लै हुनुहुन्छ ।

उनले भनिन्, “हामी दुई बहिनी मात्रै हाँे, दुवैको बिहेपछि माइतीमा आमा एक्लै मात्रै छन् ।” घरपरिवारले बेवास्ता गर्दा छोराको उपचार गर्न नसकेको उनले दुखेसो पोख्दै भनिन्, “माइतीमा कोही छैन घरकाले नहेर्दा छोराको उपचार हुन सकेको छैन ।” जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि गत जेठमा छिमेकीको सहयोगले छोरालाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा उपचारका लागि लगिएको थियो ।

काठमाडौँमा जाँच गराउँदा मुटुमा प्वाल परेको छ छिट्टै शल्यक्रिया गर्नुपर्छ नत्र ठीक नहुने डाक्टरले सल्लाह दिएपछि वसन्तीलाई थप चिन्ता परेको छ । आर्थिक अभावले उपचार हुन सकेको छैन । सञ्जीवको मुटुको शल्यक्रिया गर्नुपर्ने भनेपछि बसन्ती समस्यामा छिन् । उपचार गर्न उहासँग पैसा छैन । विपन्न वर्गको सिफारिस गर्न सदरमुकाम आएकी वसन्तीले छोरा बचाई दिन सहयोगको याचना गरेकीछिन् । उनले छोराको उपचारका लागि आवश्यक पहल गरिदिन जिल्लाका राजनीतिक दल, सञ्चारकर्मी र स्थानीय निकाय तथा सहयोगीदातालाई अनुरोध गरेकी छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us