Sunday, 21 August 2016

युरोपेली देश लिथुएनियामा नेपाली कामदारको माग, अनुमति दिने सरकारी तयारी, न्युनतम् तलव १३ सय युरो

काठमाडौं । युरोपेली मुलुक लिथुएनियाका विभिन्न उद्योगहरुबाट नेपाली कामदारको माग आएको छ । म्यानपावरमार्फत आएको मागमा व्यक्तिगत श्रम स्वीकृति सम्भव नभएपछि सरकारले लिथुएनियामा संस्थागत रुपमा कामदार पठाउन अनुमति दिने तयारी गरेको छ ।

लिथुएनियाबाट दक्ष तथा अर्धदक्ष कामदारको माग भएपछि श्रम तथा रोजगार मन्त्रालयले यसलाई खोल्न प्रक्रिया अघि बढाएको हो । केही म्यानपावरहरुले लिथुएनियाबाट निर्माण, औद्योगिक तथा सेवा क्षेत्रका उद्योगहरुमा लैजान अनुमति मागेका हुन् । उनीहरुले झण्डै १२ सय कामदारको डिमान्ड ल्याएको मन्त्रालय स्रोतले बतायो ।

युरोपियन देश लिथुएनिया रसियाबाट स्वतन्त्र भएको देश हो, जहाँको प्रतिव्यक्ति आय २८ हजार डलरभन्दा माथि छ ।
पोल्याण्ड, बेलारुस लगायतका देशसँगै रहेको यो देशमा आथिर्क गतिविधि बढेपछि पछिल्लो समय कामदारको माग बढ्दो छ । त्यसैले पनि लिथोअनियाले विदेशी कामदार लिन थालेको हो ।

आर्थिक रुपमा सबल बन्दै गरेको लिथुएनियाले विशेषगरी निर्माण र औद्योगिक क्षेत्रमा विदेशी कामदार लिने गरेको छ । यस्ता क्षेत्रमा नेपाली कामदार लैजाने गरी म्यानपावरहरुले डिमान्ड ल्याएपछि यसलाई खोल्नका लागि श्रम मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले परराष्ट्र मनत्रालयलाई पत्र लेख्दै लिथुएनियाको आर्थिक, कानुनी तथा सामाजिक अवस्थाबारे बुझ्नका लागि अनुरोध गरेको श्रम प्रवक्ता गोविन्दमणि भुर्तेलले अनलाइनखबरलाई जानकारी दिए ।
न्युनतम् तलव १३ सय युरो

लिथुएनियाबाट ईंटा भट्टामा काम गर्ने मजदुरदेखि दक्ष डाक्टर, नर्स, इञ्जिनियर लगायतको पनि माग आएको छ । म्यानपावर व्यवसायीले डिमान्ड, पारिश्रमिक र रोजगारदाताका शर्तहरुसहित संस्थागत रुपमा लिथुएनिया खोल्न माग गरेका हुन् ।

उनीहरुले ल्याएको डिमान्ड लेटरअनुसार समान्य मजदुरले पनि १३ सय युरो अर्थात झण्डै मासिक डेढ लाख रुपैयाँ भन्दा बढीसम्म आम्दानी गर्न सकिने देखिएको छ । अहिले खाडी राष्ट्रमा न्युन तलवमा काम गर्ने कामदारले पनि लिथुएनियामा राम्रो तलव बुझ्न सक्ने देखिएकाले यसलाई खोल्ने तयारी गरिएको हो ।

परराष्ट्रको सकारात्मक जवाफ आए मनित्रपरिषदमार्फत निर्णय गरेर लिथुएनियामा म्यानपावरहरुलाई कामदार पठाउन अनुमति दिइनेछ ।

युरोपमा कामदारमाथि हुने शोषणको युरोपियन युनियनर अन्तर्राष्ट्रिय मानवअिधारवादी संस्थाहरुले कडा अनुगमन गर्ने हुँदा लिथोअनिया खुल्नेमा म्यानपावर व्यवसायी पनि आशावादी छन् ।

लिथुएनिया युरोपकै तीव्र रुपमा विकास भइरहेको अर्थतन्त्र हो । जहाँ उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी भएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us