Thursday, 11 August 2016

दुई वर्षदेखि अनसनरत गंगामाया अधिकारीले आमरण अनसन थालिन, के पूरा होला उनका माग ?

काठमाडौं । सशस्त्र द्वन्द्वताका गोरखा फुजेलमा भएको कृष्णप्रसाद अधिकारी हत्याका आरोपीमाथि कारबाही माग गर्दै उनकी आमा गंगामाया  आमरण अनसन बसेकी छिन् । उनी झण्डै दुई वर्षदेखि वीर अस्पतालमा अनसनरत थिईन् ।


गंगामायाले गत शुक्रवार वीर अस्पतालको ७ नम्बर क्याबिनबाट छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको दायरामा नल्याए पाँच दिनपछि औषधी र पानी पनि नखाने घोषणा गरि प्रधानमन्त्री पुष्पकमल दाहाललाई अल्टिमेटम दिएकी थिइन्।  उनले दिएको अल्टिमेटम बुधबार सकिएपछि गंगामाया विहीवारबाट आमरण अनसनमा बसेकी हुन् । उनका श्रीमान नन्दप्रसाद अधिरकारीको पनि अनसनकै क्रममा वीर अस्पतालमा निधन भएको थियो । अहिलेसम्म तरल पदार्थ खाएर छोराको हत्यामा संलग्नमाथि कानुनी लडाइँ लडिरहेकी गंगामायाको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर छ ।  तर न्याय नपाएसम्म आफ्नो अनसन जारी रहने गंगामायाले बताइन् ।

गंगामायाले सहमती जनाए उनका लागि जीवन पर्यन्त बसोबास र खानपानको सुविधा उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गत वर्षको नै गरिसकेको थियो । तर गंगामाया भने आफ्ना छोराको हत्यारालाई जसरी पनि कारबाही भएको देख्न चाहन्छिन् ।  विसं २०७१ असोज ६ गते अनशन थालेको ३३४ दिन हुँदा उनका श्रीमान् नन्दप्रसादको अनशनरत अवस्थामा नै मृत्यु भएको थियो। उनको शव अहिले पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमौ छ ।

 न्याय नपाएसम्म दाहसंस्कार नगर्ने गङ्गामायाले अडान राखेपछि नन्दप्रसादको शव अस्पतालमा नै राखिएको छ । दुई वर्षअघि श्रीमान् बितेपछि एक्लो योद्धा झैँ अनशनरत गङ्गामाया अब आफूले कि न्याय प्राप्त गरेर सहज जीवनयापन गर्ने कि मरेर जाने अन्तिम निर्णयमा पुगेको बताउँछिन् ।

न्याय नदिलाएर सरकारले बिधुवा बनाएको आमाको मुख हेर्न नसक्ने भन्दै जेठो छोरा पनि सम्पर्क विहीन भएको भन्दै गंगामाया भाव विह्वाल भईन् ।

विसं २०६१ मा गङ्गामायाका १७ वर्षे छोरो कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको थियो । आफ्ना छोराको हत्या गर्ने विरुद्ध कारबाहीको माग गर्दै पाँच वर्षअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका अधिकारी दम्पतीले आफूहरुलाई सरकारले बेवास्ता गरेको भन्दै त्यहीँ अनशन सुरु गरेका थिए । तर गंगामायाको मागमा अहिलेसम्म कुनै पनि सरकार गम्भीर नबन्नु रहस्यमय भएको छ  ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us