Sunday, 31 July 2016

के प्रधानमन्त्रीमा प्रचण्डलाई हराउलान सुवास नेम्वाङले ?

काठमाडौं । संसदमा अविश्वासको प्रस्ताव फेस गर्दा प्रधानमन्त्री पदबाट लज्जास्पद बहिर्गमन हुने चाल पाएर त्यसअगावै राजीनामा गरेका केपी ओलीले नयाँ सरकार गठनप्रक्रियामा नेकपा एमालेको तर्फबाट हार्ने प्रमको उम्मेदवार कसलाई बनाउलान् भन्नेमा उनकै दलभित्र धेरैको चासो रहेको छ ।
त्यसैले नेपाली कांग्रेस र माओवादी केन्द्रलगायत मधेशी दलहरु नयाँ प्रम चयनका लागि छलफल र बहस गरिरहेका बेला एमाले भने अब हुने प्रम निर्वाचनमा उम्मेदवार बन्ने पात्रको खोजीमा जुटेको छ । तर हार्ने प्रमको उम्मेदवार बनाउने विषयमा पनि एमालेभित्र रडाको मच्चिएको बुझिएको छ ।
अध्यक्ष केपी ओली संसदीय दलको नेता र पार्टी अध्यक्ष भएकाले उनी आफैं उम्मेदवार बन्नुपर्ने पक्षमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेका छन् । अझ गौतम त एक कदम अघि बढेर प्रमको उम्मेदवार नबन्ने हो भने ओलीले संसदीय दलको नेता पद नै छाड्नु पर्ने पक्षमा उभिएका छन् ।
तर ओली भने हार्ने उम्मेदवार नबन्ने भन्दै संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रमको उम्मेदवार बनाउने तयारीमा रहको स्रोतले बतायो । ओलीको यस्तो तयारीमा रहेको चाल पाएर एमालेका अन्य नेता पनि असन्तुष्ट बनेको स्रोतले बतायो ।
संसद्मा निर्वाचन हार्ने नैै भए पनि नेम्वाङ उम्मेदवार बनेमा दलमा उनी ओलीपछिको दोस्रो वरिष्ठ हुने र त्यही आधारमा टेकेर भविष्यमा नेम्वाङले ओली खेमाबाट पार्टी अध्यक्ष दाबी गर्न सक्ने भन्दै उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेललगायतका नेता झस्किएको स्रोतले बतायो ।
२०६२/६३ को आन्दोलनपछि पुनःस्थापना भएको संसद्को सभामुख भएर जिम्मेवारी सम्हालेका नेम्वाङले दुवै संविधानसभामा अध्यक्षको जिम्मेवारी पाइसकेका छन् । सभामुख पदबाट मुझ भइसकेपछि नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने चर्चा पनि एमालेभित्र चलेको थियो ।
व्यक्तिगत रुपमा पनि नेम्वाङले राष्ट्रपति पदमा रुचि देखाएपछि विद्या भण्डारीको पक्षमा रहेका ओलीले उनलाई पार्टी नेतृत्वमा रहेर काम गर्नुपर्छ भन्दै त्यसका लागि तयार रहन भनेपछि उनी पछि हटेको बताइन्छ । नभन्दै ओलीले नेम्वाङलाई संसदीय दलको उपनेता छाने ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us