Sunday, 17 July 2016

मुस्ताङको पहरामा नुनु खानी , मन्त्री र सरकारी कर्मचारीले चाखे

मुस्ताङ । उपल्लो मुस्ताङको छुसाङमा रहेको नुन खानी सरकारी उपेक्षाका कारण बन्द छ। कुनैबेला परम्परागत शीप र शैलीमा स्थानीयकै जाँगरले यहाँको प्रशोधित नुन नेपालका अधिकांश जिल्लामा पुग्थ्यो। जसलाई भनिन्थ्यो– ढिके नुन।

बजारमा नुनको माग पूरा गर्न र आफ्नो गुजारा चलाउन मुस्ताङका स्थानीयले गाउँ–सहर चाहारेर नुन बेच्थे। परम्परागत ढंगले नुनको उत्पादन र बिक्री हुन्थ्यो। सरकारी तहबाट मुस्ताङको नुन खानीलाई थप व्यवस्थित गर्ने र त्यसबाट अधिकतम लाभ लिनेबारे पटक्कै चासो पुगेन। उल्टै आयोडिन नभएको नुन नखानु भनेर सरकारी तहबाटै रेडियो, टिभी र पत्रपत्रिकामा प्रचार गरियो। विस्तारै मानिसहरुले यहाँको नुन खान छाडे। केही पछिसम्म घर पालुवा चौपायालाई खुवाउनमा मात्रै यो नुनको प्रयोग खुम्चियो। झन्झन् पछि नुन उत्पादक स्थानीय निरुत्साही भए र यो नुनको बजार एकाएक सुक्यो।

छुसाङका धर्म गुरुङ भन्छन् ‘करिब १५ बर्ष भयो नुन झिक्ने काम बन्द छ,’ उनले सुनाए ‘गाउँमै आएर यो नुन नखानु गलगाँड हुन्छ, बजारको पोका नुन खानु भनेपछि यहाँको नुन झिक्नै छाडियो।’ कुनै बेला यही नुन बेचेर गुजारा चल्ने छुसाङ गाउँका हरेक भान्छामा अहिले भारतबाट आउने पोका नुन चल्छ।
सरकारको स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत भारतबाट नेपालमा नुन भित्रन्छ।

स्थानीय पनि जानकार छन्– भारतबाट आउने नुन समुन्द्र वा खानीमै आयोडिनयुक्त हुँदैन। प्रशोधित नुनमा उचित मात्रामा आयोडिन मिसाएर बजार पठाउन तयार पारिन्छ। धर्म भन्छन् ‘यहाँकै नुनमा आयोडिन मिसाउन पनि सकिन्थ्यो होला, आयोडिन थपिएको यही नुन पहिले जस्तै गाउँ–सहरमा पुग्दा के बिग्रन्थ्यो ?’ उनले थपे ‘देश भित्रकै नुन छाडेर विदेशबाट नुन ल्याउँदा हाम्रो चित्त दुखेको छ।’

भारतबाट पोकामा आउने आयोडिनयुक्त नुनको बजारले मुस्ताङी नुनलाई विस्थापित गरिदियो। दैनिक उपभोगमा आउने देश भित्रै रहेको यो खनिजलाई उपयोग गर्न सरकारी तहबाट कुनै पहल भएन।

नुनदेखि सुनसम्म विदेशबाट ल्याएरै चलाउने तर देश भित्रका श्रोत र सम्पदा उपयोगमा आँखा चिम्लने सरकारी नीतिको प्रतिनिधि उदाहरण हो–मुस्ताङको नुन खानी। परम्परागत शीपबाट स्थानीयकै सक्रियतामा सहज प्रयोगमा आएको नुन खानीमा सरकारले थप योगदान त गरेन उल्टै खानी नै बन्द गरिदिएकोमा स्थानीयको दुखेसो छ। छुसाङका गणेश गुरुङ भन्छन् ‘नुन झिक्नै बन्द गर्नुभन्दा यहाँको नुनमा आयोडिन कसरी मिसाउन सकिन्छ त्यसतर्फ सरकारले ध्यान दिनु पथ्र्यो।’
सरल र सहजै संचालनमा आउन सक्ने यो नुन खानी बर्षौंदेखि बन्द अवस्थामा छ। यो दृष्टान्तले के प्रष्ट पार्छ भने जटिल प्रकृया र ठूलो लगानी लाग्ने युरेनियम, फलाम, पेट्रोलियम, प्राकृतिक ग्यासका खानीहरु संचालनमा आउने विश्वास गर्न निकै कठिन छ। 

नुन खानीमा पहिलो पटक पुगे मन्त्री र खानी विभाग

नेपालमा रहेका खानीहरुको अध्ययन गर्ने र उत्खनन् गर्ने दायित्व खनी तथा भूगर्भ विभागको हो। तर विभाग नै मुस्ताङको नुन खानीबारे बर्षौसम्म बेखबर रह्यो। २० बर्षयता नुन खानीकाबारेमा विभागमा कुनै उल्लेख्य काम भएको रेकर्ड देखिदैन। विभागबाट खनीसम्म पुगेर अध्ययन गर्नेसम्म काम भएन।

‘नुन खानीको बारेमा अहिलेसम्म खासै काम भएको छैन,’ खानी तथा भूगर्भ विभागका निमित्त प्रमुख राजेन्द्र खनालले भने ‘यो पटक हामी खानीसम्म पुग्यौं अब कति परिमाणमा नुन छ भन्ने पत्ता लगाएर त्यसको उपयोग गर्नेतर्फ जुट्ने छौं।’ 

उनले शुद्ध नुनमा आयोडिन मिसाएर खानयोग्य बनाउने प्रबिधि र त्यसको ज्ञान नेपालमै रहेको बताए। ‘नुन छ भने त्यसमा आयोडिन थप्ने कुरा त सामान्य हो।’ उनले भने ‘नुन प्रशोधन गर्ने बिधि निकै सरल र सहज छ।’

उद्योग मन्त्रालय अन्तर्गत पर्ने खानी विभागका विज्ञसहित उद्योगमन्त्री सोमप्रसाद पाण्डे नुन खानीको स्थलगत अध्ययनका लागि मुस्ताङको छुसाङ पुगेका हुन्।
‘मलाई सम्झना छ हाम्रा बाउ–बाजेले मुस्ताङबाट नुन ल्याएर हामीलाई खुवाउनु भयो,’ मन्त्री पाण्डेले भने ‘हामीले सानो छँदा खाएको नुनको खानी आफ्नै आँखाले देखेँ, नुन चाखेर आएँ।’

मन्त्री पाण्डेले २० बर्षसम्म उपेक्षामा रहेको नुन खानीबारे अध्ययन सुरु भएको बताए। उनले भने ‘छिटो भन्दा छिटो कति परिमाणमा नुन छ त्यो पत्ता लगाएर खानीलाई व्यावसायिक प्रयोगमा ल्याउनका लागि आवश्यक काम अघि बढाउन खानी विभागलाई निर्देशन दिएको छु।’ 

नेपालमा रहेका खानीहरुबारे अहिले जस्तो बहस यसअघि कहिल्यै नभएको मन्त्री पाण्डेले दावी गरे। ‘बहस मात्रै हैन अध्ययन र उत्खनन्को काम नै सुरु भएको छ,’ उनले भने ‘म प्राबिधिक मान्छे त हैन तर मैले अधिकांश खानीहरु हेरेपछि एउटा साधारण नेपाली नागरिकको हैसियतले पनि भन्न सक्छु–नेपालको जमीनमा धेरै उपयोगी र बहुमूल्य चिज छन्, तर खोज, अनुसन्धान र उपयोग गर्ने नीति, नेतृत्व र जाँगरको अभाव छ।’ मन्त्री पाण्डेले अगाडि थपे ‘अहिले अघि बढेका कामले निरन्तरता पाउने हो भने नेपालमा रहेका खानीहरुबारे अनुसन्धान र उत्खनन्को क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us