Sunday, 31 July 2016

२० रुपैयाँ तिरेर भगवान पुकारदै यसरी गरिन्छ सप्तकोसीको यात्रा

सुनसरी । २०७० साल साउन २१ गते सप्तकोसी नदीमा भएको डुंगा दुर्घटनामा चार जनाको मृत्यु भएको थियो ।  १५ जना बेपत्ता भए।

चतरा पुगेर उदयपुर फर्केकाहरू बसेको डुंगा नदी तर्दासम्म ठिकठाक थियो। तर, किनारा नजिक पुगेर कोल्टियो। ९० जना चढेको डुंगा किनारमा डुबेकोले थोरैमात्र हताहत भए। कोसीको बीचमा पल्टेको थियो भने १५ जना बाँच्न पनि मुस्किल हुन्थ्यो। त्यो घटनापछि डुंगामा चढ्नेलाई लाइफ ज्याकेट दिनुपर्ने नियम बन्यो।

आठ वर्षअघि एउटा मोटरबोट नै कोसीमा बिलाएको थियो। ९ जना चढेकोमा आठ जनाको उद्धार भयो। एक जनासहितको मोटरबोट पछिसम्म पनि प्रहरी र गोताखोरहरूले भेटेनन्। चतरा–त्रिवेणीघाटसम्म पहिलोपटक निकै तामझामका साथ चलाइएको मोटरबोट दुर्घटनापछि चलाउन बन्द गरियो।

यस्ता ठूला दुर्घटनाहरू सप्तकोसी नदीका लागि अस्वभाविक होइनन्। सात वटा नदी मिसिएर बनेको सप्तकोसी नदी हेर्दा जति विशाल छ, त्यति नै पार गर्न जोखिम पनि। धार परिवर्तन गरिरहने र हिमालसम्मको वर्षा र हिउँको कारण जल सतह घटबढ हुने सप्तकोसीको बाढीमा त डुंगा खियाउनेहरू नै आधा–आधा सम्भावना बोकेर डुंगा चलाउँछन्।

सातामा चार–पाँचपटक नदी तर्ने र पानीमा पौडिदै, खेल्दै आएकाहरूकै छाती ढक्क फुल्छ र डुंगामा बसेपछि मनमनै भगवानसँग प्रार्थना गर्छन्, ‘कुनै दुर्घटना नहोस् ।’


‘सप्तकोसी नदीका कुनै पनि भुल माफी हुँदैन,’ सुनसरीको सिसौली घाटबाट श्रीलंका टापुसम्म डुंगा चलाउने भोगेन्द्र भट्टराई भन्छन्, ‘मुख्य कुरा डुंगालाई सही दिशा दिनु हो, नत्र ढ्याउको बिचमा डुंगा पल्टिन सक्छ।’  

ड्याउ भनेको नदी बीचमा अवरोधमा ठोक्किँदा पानीमा उठ्ने छाल हो। त्यसैले पौडी खेल्न सक्छु भन्ने केही मानिसबाहेक बाँकी सबै कोसीको विशाल फैलावट देखेरै डराउँछन्। झन् कोसीको बीचमा छालले डुंगा उफार्दा त डरैले पिसाब समेत फेर्छन् रे।

‘एकपटक नदीमा पानीको छाल निकै ठूलो थियो, डुंगा जोडले तलमाथि गर्न थालेपछि सबै यात्रु डराएर तल निहुरे,’ बाढी आएको बेलामा सप्तकोसी नदी तर्न डुंगामा चढेका १९ जना यात्रुको किस्सा सुनाउँदै भट्टराईले भने, ‘नदी पार गरेपछि डुंगा गन्हाएर डुङडुङ भयो, डरले पिसाबै फेरेछन्।’ बीचमा पुगेपछि उम्कने ठाउँ हुँदैन। चालकको सानो मात्र गल्तीले डुंगा डुब्न सक्छ।

जोखिम भए पनि कोसी नदीमा पर्ने श्रीलंका टापुमा बस्ने हजारौं मानिसको लागि डुंगा निर्विकल्प साधन हो। आफ्नो घरदेखि बजार र स्वास्थ्य संस्था तथा सरकारी कार्यालय आवतजावत गर्न डुंगाको प्रयोग गर्नैपर्ने बाध्यता छ। मानिस आवतजावत गर्दा ठूलो डुंगा प्रयोग गर्छन्। अन्य कामको लागि सानो।

 यस्ता डुंगाले बेलाबखत भैंसी र राँगा पनि तार्छन्। एकैपटक १२–१५ भैसीलाई डुंगामा बाँधेर कोसीमा हेलिन्छ। डुंगामुनि पौडिएर भैसी पनि डुँगासँगै कोसी तर्छन्। पाडापाडीलाई भने डुंगाभित्र राखिन्छ। अहिले कोसीमा मानिस तारेको २० रुपैयाँ र भैंसी तारेको डेढ सय रुपैयाँ भाडा लाग्छ। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us