काठमाडौं । ठेकेदार कम्पनीको लापरबाहीका कारण रिङरोड बालकुमारी खरिबोट–इमाडोल जाने सडक पिच गरेको भोलिपल्टै खाल्डाखुल्डी परेको छ। उपमहानगरपालिकाको बजेटमा ठेकेदार कम्पनी ‘पूर्णचण्डी निर्माण सेवा’ ले साढे दुई लाख रुपैयाँमा उक्त सडकको ९० मिटर खण्ड असार २९ मा कालोपत्रे गरेको थियो।
स्थानीयवासीले बजेट फ्रिज हुने डरले हतारहतार काम गरेको र कमसल सामानको प्रयोगले गर्दा बिग्रिएको बताए। स्थानीय हीरा महर्जनले गल्ती गर्ने कम्पनीलाई कडा कारबाही नहुँदा यस्ता समस्या आउने गरेको बताए।
ठेकेदार कम्पनीले भने आफ्नो कमजोरीले नभई उपमहानगरपालिकको वातावरण शाखा र खण्डा गार्मेन्टमा आउने हेभी गाडीका कारणले कालोपत्रे उप्किएको दाबी गरेको छ। पूर्णचण्डी निर्माण सेवाका प्रोप्राइटर रत्न महर्जनले सडक इस्टिमेट डिजाइनअनुसार कालोपत्रे गरेको दाबी गरे।
‘ललितपुरवासीको नाताले बिग्रिएको ठाउँमा मर्मत गर्छौं,’ उनले भने।
उपमहानगरका इन्जिनियर रामरतन शाहले सडक निर्माण भएको साइटमा गएर अवलोकन गरिने बताए। ‘ठेकेदार कम्पनीको गल्ती भेटिएमा कानुनी प्रक्रियाअनुसार कारबाही अगाडि बढाइनेछ,’ उनले भने।
ठेकेदार कम्पनीले उक्त सडक मर्मतको ठेक्का वैशाख २९ मा पाएको थियो । इस्टिमेटअनुसार ०.७५ इन्च कालोपत्रे हुनुपर्छ । साथै साइड ड्रनसहित ७० मिटर लम्बाइ चार मिटर चौडाइको सडक मर्मत गर्नुपर्छ। तर कम्पनीले ड्रन पनि बनाएको छैन। अहिले सडकमा परेका खाल्डाखुल्डीमा पानी जम्ने गरेको छ। यसले पैदल यात्रुहरू बढी मर्कामा परेका छन्।