Saturday, 16 July 2016

यस्तो पो हुनुपर्छ दोस्ती, हौ हेर्नुस् देउवा–प्रचण्ड सम्बन्ध मर्ने–मार्नेदेखि सत्ता सहयोगीसम्म

काठमाडौं । नेपाली राजनीतिमा तत्काल निर्णय लिन सक्ने नेताका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चिनिन्छ । त्यस्तै निर्णय गर्न सक्ने क्षमताले अहिले दुई नेतालाई एकठाउँमा उभ्याएको छ । माओवादी जनयुद्धको सुरुवात देउवा प्रधानमन्त्री हुँदा भएको थियो, जसको नेतृत्व प्रचण्डले गरेका थिए । २१ वर्षे यो समयावधिमा देउवा–प्रचण्डबीचको सम्बन्धमा निकै उतार–चढाव आएको देखिन्छ । स्वभावजन्य पृष्ठभूमि कांग्रेस सभापति शे
रबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै आँटिला नेतामा पर्छन् ।

 नेपाली राजनीतिमा कुनै पनि निर्णय तत्काल लिन सक्ने नेताका रूपमा दुवैलाई चिनिन्छ । पछि पर्न सक्ने प्रभावका विषयमा कुनै लेखाजोखा नगरी निर्णय लिन दुवै खप्पिस छन् । जोखिम मोलेरै भए पनि आफूलाई लागेको कुरामा ‘बोल्ड डिसिजन’ लिन सक्ने नेताका रूपमा चिन्छन्, दुवै पार्टीका नेताहरू देउवा–प्रचण्डलाई । प्रचण्ड आफूलाई लागेको विषयमा प्रस्ट खुलेर कुरा गर्न रुचाउँछन्, तर देउवा अलिक ‘रिजर्भ’ बस्न रुचाउने नेता हुन् । सञ्चारकर्मीहरूसँग प्रस्तुत हुँदा देउवा आफू त्यत्ति नजानेजस्तो गरी अरूका कुरा बढी सुन्न र जान्न रुचाउँछन् । तर, प्रचण्ड भने आफ्ना कुरा बढी जानकारी दिन चाहन्छन् । 

सुरुमा काम गर्ने, तर त्यसको नतिजा पछि नराम्रो आए त्यही वेला पछुताउने खालको शैलीमा दुवैमा समानता देखिन्छ । ‘पोजिसन’ फेर्ने स्वभाव यी दुई नेताको विगत कटुता र शत्रुतापूर्ण भए पनि राजनीतिक सम्बन्ध र यिनीहरूले राख्ने र विचार भने केही हदसम्म मिल्छन् । ‘प्रचण्डमा कुरा राखेर बुझाउन खोज्दा चाँडै कन्भिन्स हुने स्वभाव छ । कहिलेकाहीँ पोजिसन फेर्ने स्वभाव छ, तर अप्ठ्यारो र रिजिड होइन,’ कांग्रेस केन्द्रीय सदस्य डा प्रकाशशरण महत भन्छन्, ‘तर, धेरै अप्ठ्यारो नेता होइन । अरूका कुरामा चित्त बुझ्दा आफ्नो कुरा हुनैपर्छ भन्ने पनि छैन । देउवाजी पनि मिलाएर जाऊँ, मैले जे भनेँ त्यही हुनुपर्छ नभनी अडानबाट फेरिने नेता हुनुहुन्छ ।’ 

देउवा–प्रचण्ड पहिलो भेट २०४८ सालको आमनिर्वाचनताका देउवासँग पहिलो भेट भएको प्रचण्ड बताउँछन् । ‘२०४८ सालको निर्वाचनका क्रममा संसद् उपयोग गर्ने हाम्रो नीति थियो । त्यही क्रममा देउवासँग भेट भएको हो,’ प्रचण्डले  भने, ‘त्यसवेलादेखि नै उहाँसँग कुनै न कुनै रूपमा प्रत्यक्ष, कहिले परोक्ष रूपमा छलफल हुँदै आएको छ ।’ देउवासँग द्वन्द्वकालमै पनि टेलिफोन संवाद हुने गरेको प्रचण्डले खुलासा गरे । ‘देउवाजीसँग अलि बढी शान्ति प्रक्रियामा आउने सन्दर्भमा कुरा हुन्थ्यो,’ उनले भने, ‘म दाङमा थिएँ, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, दाङबाट उहाँसँग मैले त्यतिवेला फोनमा कुरा गरेको थिएँ । शान्ति प्रक्रियाको वातावरण बनाउने क्रममा उहाँसँग दाङ जिल्लाबाट फोनमा कुराकानी गरियो, त्यो नै उहाँसँगको सम्बन्धमा आइसब्रेक थियो ।’ 
आफूसँग कुराकानी भएपछि नै देउवाले वार्ताका लागि उभ्याएको प्रचण्ड बताउँछन् । ‘मसँग कुरा भएपछि देउवाले शान्ति प्रक्रियाको वार्ताको पक्षमा आफूलाई उभ्याउनुभयो । मसँग कुरा गरेपछि उहाँले नेपालको एउटा बहादुर नेता प्रचण्ड हो भनेर बाहिर बोल्नु पनि भयो । त्यो सकारात्मक भनाइ बाहिर दिनुभयो र शान्ति सम्झौता गर्नुपर्छ भनेर वातावरण पनि बनाउनुभयो ।’ शान्ति वार्ताको सुरुवात भएपछि माओवादीले संविधानसभाको निर्वाचनलाई सर्त बनाएको थियो । तर, देउवाले नमानेपछि पहिलो वार्ता सफल हुन नसकेको प्रचण्ड स्मरण गर्छन् । त्यतिवेलादेखि देउवासँग राजनीतिक रूपले परिणाममुखी संवाद हुन थालेको उनले सुनाए । युद्धकालमा देउवा–प्रचण्डबीच भेट भएन माओवादीले चलाएको युद्धकालमा देउवा–प्रचण्डका बीचमा भेट भएन । माओवादी नेताहरूले त्यसवेला पनि एमालेका शीर्ष नेता, अन्य वामपन्थी पार्टीका नेताहरू र कांग्रेसकै पनि कतिपय नेताहरूसँग भेटघाट र छलफल गरे पनि देउवासँग भने त्यस्तो भेटघाट हुन पाएको थिएन । त्यसो त देउवाले माओवादी नेताहरूको सबैभन्दा माथिल्लो नेतालाई भेटेको भनेको कृष्णबहादुर महरालाई नै हो । २०५८ सालमा सरकार–माओवादीबीच चलेको पहिलो वार्तामा प्रचण्डले महराको नेतृत्वको वार्ता टोली बनाएर पठाएका थिए । देउवासँग माओवादीको उच्चस्तरीय नेतृत्वले भेटेको त्यो नै पहिलो हो । त्यहीवेलादेखि माओवादी नेतृत्वले देउवासँग आवश्यकताका आधारमा क्रमशः सम्बन्ध र भेटघाट स्थापित गर्दै लगेको हो । 

‘सम्बन्ध राजनीतिक उद्देश्यका कारण हुन्छ, व्यक्तिगत सम्बन्ध पनि हुन्छन्,’ महराले भने, ‘राजनीतिक सम्बन्ध भइराख्ने भन्ने हुँदैन, राजनीतिक उतारचढावसँगै सम्बन्धमा पनि उतारचढाव भइराख्छ ।’ देउवानिकट कांग्रेस नेता डा। महत पनि यी दुई नेताबीच दोस्रो जनआन्दोलनपछि पहिलो भेट भएको बताउँछन् । ‘माओवादीले ०५२ सालमा प्रधानमन्त्री देउवासमक्ष ४० बुँदे मागपत्र बुझाउँदा डा।बाबुराम भट्टराईले भेटेकाले त्यसअघि ०४८ सालतिरै देउवा र प्रचण्डबीच भेट भएको होला,’ उनले भने । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us