Saturday, 16 July 2016

भूकम्प आएको एक वर्ष वित्दा पनि सामाग्री दिल्लीको दूतावास थन्किएको थन्कियै, झगडा गर्दै कर्मचारी

दिल्ली ।
यो भव्य भवन भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासको हो । यही दूतावासको एक कुनामा झण्डै एक टन सामान थुप्रिएको एक वर्षभइसकेको छ। खासमा त्यो सामान गत वर्ष वैशाख १२ मा आएको भूकम्पपछि नेपालमा पठाउनका लागि आएको राहत सामाग्री हो। सहयोगस्वरुप आएको दैनिक उपभोग्य वस्तु एवं ब्ल्यांकेट, तारपोलिन आदि अझै पनि दूतावासमा जगेडा छ। त्यो सामान के गर्ने त अब ? सामान नेपाल पठाउन थालिएको प्रकृयामा विवाद बढेर वरिष्ठ कर्मचारीहरुबीच चर्काचर्की हुन पुग्यो।

दूतावासमा कुटनीतिक विशिष्ट कर्मचारीमाझ आन्तरिक कलह चर्किएपछि र सार्वजनिक रुपमा थाहा हुने गरी सतहमा विवाद बढेपछि परराष्ट्र मन्त्रालयले स्थितिको बुझबुझारथ गर्न सहसचिवस्तरको वरिष्ठ पदाधिकारीलाई दिल्ली पठाइसकेको छ। दूतावासका कुटनीतिक कर्मचारीहरुको बेमेल स्थितिबारे स्थलगत अध्यन गर्न मन्त्रालयले सहसचिव एवं पाकिस्तानका लागि प्रस्तावित राजदूत सेवा लम्साल अधिकारीलाई मंगलबार दिल्ली पठाएको हो।

काठमाडौंमा गृह तथा अर्थ मन्त्रालयसँग समन्वय गरेर भन्सार मिनाहासहित यो राहत सामग्री नेपाल पठाउन उपसचिव तहमा रहने काउन्सेलर हरि ओडारीले पहल गरेका थिए। तर कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालले त्यसलाई अस्वीकार गरेपछि विवाद बढ्यो।

गत शुक्रबार बढेको विवादले झगडाको रुप लिएपछि परराष्ट्रले घटना बुझ्न सहसचिव तहमा कर्मचारी दिल्ली पठाएको हो। गत शुक्रबारको काण्डपछि दिल्लीमा रहेका कार्यवाहक राजदूत ढकालले ‘आफ्नो सुरक्षाका निम्ति उचित प्रबन्ध गरिदिन’ भन्दै परराष्ट्रमा पत्र पठाएपछि स्थिति बढी जटिल बनेको थियो।

दिल्लीमा कार्यरत राजदूत दीपकुमार उपाध्यायलाई ओली सरकारले २ महिनाअघि फिर्ता बोलाएपछि सहसचिव कृष्णप्रसाद ढकालले कार्यवाहक जिम्मेवारी निर्वाह गर्दै आएका छन्। तर, कर्मचारीबीच कार्यगत एकता र समन्वय जुटाउन नसकेको भन्दै ढकालको निर्णय क्षमतामाथि परराष्ट्रले स्पष्टीकरण लिइसकेको छ।

भर्खरै काज सेवाबाट दिल्ली पोष्टिङमा गएका उपसचिव ओडारीले ‘दूतावासमा कार्यवाहक हैसियतमा ढकाल रहिन्जेल काम गर्न नसकिने’ भनेर आफूलाई परराष्ट्रमा फिर्ता बोलाउन परराष्ट्र सचिव शंकर बैरागीलाई आग्रह गरिसकेका छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us