वीरगन्ज । बाराको कलैया नगरपालिकामा अढाइ वर्षीया बालिकाको बलात्कार भएको छ । बलात्कार आरोपमा कलैया–४ दहिबजारस्थित शिवम् स्विट्समा मजदुरी गर्ने ११ वर्षीय सागर राम चमार पक्राउ परेका छन् । उनले आफू काम गर्ने होटलसँगैको घरकी बालिकालाई बिहीबार साँझ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका चमारलाई जिल्ला प्रहरी कार्यालय बाराको महिला तथा बालबालिका सेवा केन्द्रमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । ‘आरोपितको उमेरका कारण हिरासतमा राख्न नमिल्ने भएकाले महिला तथा बालबालिका सेलमा राखेका छौँ,’ उप्रेतीले भने । चमारले बालिकाका बाबु–आमा कोही घरमा नभएको मौका छोपी बलात्कार गरेको प्रहरीले बताएको छ ।
कलैया अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट बालिकाको बलात्कार भएको खुलेको एसपी उप्रेतीले जानकारी दिए । बालिका होटेलमा आउजाउ गरिरहने भएकाले बिहीबार बालिकाको घरमा आमाबाबु कोही नभएको थाहा पाएपछि चमारले घरभित्रै गएर बलात्कार गरेको बारा प्रहरीले जनाएको छ ।‘बालिकाको घर र होटेल सँगै भएकाले बालिका होटेलमा आउ–जाउ गरिरहन्थिन्, बिहीबार बालिकाको बाबु–आमा उनलाई छाडेर बजारतिर गएका रहेछन्,’ एसपी उप्रेतीले भने, ‘त्यतिवेलै घटना भएको देखियो ।’