Monday, 25 July 2016

विदेशबाट १ अर्ब ८० करोडको मदिरा आयात, बेलायतदेखि क्युवासम्मका मदिरा खान्छन् नेपाली

काठमाडौं । गत वर्ष पौंने दुर्इ अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ ।  भन्सार विभागका अनुसार गत वर्ष १ अर्ब ८० करोड ७३ लाख रुपैया बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । स्वदेशमै राम्रा र गुणस्तरीय मदिरा उत्पादन भएपनि विदेशी मदिराको पारखी नघटेको विभागको तथ्यांकले देखाउँछ ।विदेशबाट १ करोड २३ लाख लिटर बराबरको विदेशी मदिरा मुलुक भित्रिएको छ ।

विभागका अनुसार मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ मात्रै ३९ करोड २७ लाख रुपैयाँ बराबरको मुलुकमा भित्रिएको छ ।  कच्चा पदार्थ र मदिरा गरेर विदेशबाट २ अर्ब २० करोड रुपैयाँ बराबर मुलुक भित्रिएको विभागले जनाएको छ । स्वदेशमा रहेका मदिरा उद्योगले मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ भारत र तेस्रो मुलुकबाट भित्र्याउने गर्छन् । विभागका अनुसार एक्स्ट्रा नेचुरल अल्कोहल, वाइन, ह्विस्की, माल्ट वियर, गुलियो रक्सी,जिनरभोड्का र रम विदेशबाट आयात हुन्छ ।

विभागका अनुसार एक्स्ट्रा नेचुरल अल्कोहल ७७ करोड ९५ लाख , वाइन २५ करोड ५२ लाख , ह्विस्की ६७ करोड, माल्ट वियर २ करोड २० लाख, गुलियो रक्सी ३ करोड ७६ लाख, जीनरभोड्का ३ करोड ५६ लाख, रम १८ लाख १५ हजार रुपैयाँ र अन्य ५८ लाख ४० हजार रुपैयाँ बराबरको मुलुक भित्रिएको विभागले जनाएको छ । सबैभन्दा बढी मदिरा बेलायतबाट आयात हुने गरेको विभागले जनाएको छ ।

नेपालमा आउने मदिरा भारत, बेलायत, फ्रान्स, अष्ट्रेलिया, स्पेन, इटाली,सिंगापुर, नेदरल्याण्ड, चीन, मेक्सिको, क्युवा, आयरल्याण्ड, अमेरिका, बेल्जियम र स्विडेनबाट आयात हुन्छ ।    

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us