Thursday, 28 July 2016

अहोरात्र खटेर बस्ती बनाउँदै धुर्मुस–सुन्तली

मेलम्ची । एकीकृत नमुनाबस्ती निर्माणका लागि काभ्रेको पहरी गाउँबाट सुरु गरेका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे दोस्रो चरणको नमुना बस्ती निर्माणको क्रममा सिन्धुपाल्चोेकको गिरानचौरमा यतिबेला अहोरात्र खटिरहेका छन् ।

देश विकासको मूल प्रक्रिया भनेको एकीकृत नमुना बस्ती विस्तार भएकाले ‘क्लिन सिटी’ र ‘ग्रिनसिटी’ को अवधारणाअनुरुप भूकम्पपीडितका साथसाथै अपाङ्गमैत्री तथा बालमैत्री र वातावरण मैत्रीसहितको भूकम्पप्रतिरोधात्मक भवन निर्माणकार्य भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वय गरी नमुना बस्ती निर्माण कार्य थालनी गरिएको हो ।

मेलम्ची नगरपालिका–८ स्थित विपन्न तथा आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्षरुपमा फाइदा पुग्नेगरी ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ वटा भवन, पाँचवटा चिल्डे«न पार्क र एउटा खेलकुद मैदानसहितको एकीकृत बस्ती निर्माण कार्यमा कलाकार धुर्मुस र सुन्तली लागिपरेका छन् ।

निर्माणको लागि जम्मा रु पाँच करोडको बजेट निर्धारण गरेको भए पनि सुरुमा आफ्नो धुर्मुस सुन्तली फाउन्डेसनको अक्षयकोषमा रु एक लाख ७४ हजार हुँदै गर्दा निर्माण कार्य थालेको कट्टेलले बताए। देश विदेशमा रहेका नेपाली, विदेशी तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा अहिलेसम्म रु पाँच करोड सङ्कलन भइसकेको छ ।

असार महिनासम्ममा निर्माण कार्यका लागि चाहिने सिमेन्ट, रड, बालुवा, गिट्टीलगायतका अन्य सामग्री गरी रु ५९ लाख खर्च भइसकेको र साउन महिनाको खर्चको विवरण यसै महिनाको अन्तिममा आउने फाउन्डेसनले जानकारी दिएको छ ।

नमुना बस्ती निर्माणका लगि २०७३ वैशाख १२ गते शिलान्यास गरिएको भएपनि सम्पूर्ण तयारीका साथ बस्ती निर्माण कार्य जेठ ९ गते सुरु भएको र दसैंको घटस्थापनाको दिन हस्तान्तरण हुने गरी निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ ।

निर्माण कार्यका लागि प्रत्येक ६५ घरधुरीका एक जना तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न सङ्घसंस्थाबाट स्वयम्सेवकका रुपमा रहेका गरी जम्मा १०० जनाले दैनिक श्रम गर्ने गरेका छन् भने शनिबारको दिन २०० सम्म पुग्ने गरेका छन् ।

असार साउनको समयमा निकै वर्षा हुने हुँदा ढुवानी गरेर ल्याउने कच्चा पदार्थ सिमेन्टलगायतका वस्तु भिजेर डल्लो पर्ने हुँदा प्रयोग बिनै नष्ट हुने गरेको छ । हेलम्बु राजमार्गअन्तर्गतको सिन्धुखोलाबाट करिब पाँच किलोमिटरमा माथि रहेको उक्त बस्तीमा पुग्नको लागि सडकको अतिनै दयनिय अवस्था रहेको छ जसका कारण कच्चा पदार्थ लैजान प्रयोग हुने सवारीसाधन जानको लागि निकै कठिनाइ पर्ने गरेको छ ।

उक्त क्षेत्रमा खानेपानीकोे लागि निकै समस्या भएकाले एकीकृत बस्तीसहित सिङ्गो गिरानचौरवासीलाई फाइदा पुग्ने गरी करिब ८०० मिटर गहिराइमा रहेको सिन्धुखोलाबाट पानी ल्याउनको लागि पाइप बिछ्याउने कार्य भइरहेको छ ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले धुर्मुस एकीकृत नमुनाबस्ती निर्माण कार्य सरकारलाई सघाउने अभियान भएको र राम्रो इच्छाशक्ति भएकाले पनि यस निर्माण कार्यमा दरिलो भएर लाग्नुपर्ने बताए । उनले डाँडाकाँडा छरिएर रहेका बस्तीलाई एकीकृत गरेर बस्ती निर्माण कार्यमा जुट्ने हो भने देश विकासका लागि धेरै समय नलाग्ने र भुइँचालोले यो ठूलो अवसर दिएको कुरा बताए ।

समाजका र देश निर्माणका लागि केही गरौँ भन्ने हेतुका साथ कलाकार जोडी धुर्मुस–सुन्तली अहोरात्र खटेर बस्ती निर्माणमा जुटेको र यो देशको लागि धेरै ठूलो उदाहरणीय कार्य बनेको मेलम्ची नगरपालिकाका युवा धीरेन गुरुङले बताए ।

कलाकारिता क्षेत्रको विषयमा  कुरा गर्दै सीताराम कट्टेलले आफ्नो कलाकारिता क्षेत्रलाई केही समयको लागि विश्राम गरेको र एकीकृत बस्ती निर्माणपछि पहिलेजस्तैे आफ्नो कलाकारिता क्षेत्रमा फर्कने बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us