Saturday, 30 July 2016

मरेका कुखुराको मासु उपभोक्ताको भान्सामा !

काठमाडौं । उपत्यकाबासीले बढी रकम खर्च गरेर पनि गुणस्तरहीन मासु उपभोग गरेर जोखिम मोल्दै आएका छन् । व्यवसायी र मासु पसल सञ्चालकले मरेका कुखुराको मासु उपभोक्तालाई बिक्री गर्ने गरेको रहस्य खुलेको छ । त्यसैले उपभोक्ताले कुखुराको मासु उपभोग गर्नुअघि एकपटक सोच्नैपर्ने बेला आएको छ ।

पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी भित्र्याउँदै गरेको अवस्थामा झन्डै एक मेट्रिक टन ९एक हजार किलो० मरेका कुखुरा नियन्त्रणमा लिएको छ । क्वारेन्टाइन कार्यालयले नियन्त्रणमा नलिएको भए मरेका ती कुखुराको मासु पनि उपभोक्ताको भान्छामा पुग्ने थियो । व्यवसायीले मरेका कुखुरा अवैध रूपमा राजधानीको सामाखुसी पठाउन लाग्दा क्वारेन्टाइन कार्यालयले शुक्रबार बिहान नागढुंगा नाकाबाट नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

क्वारेन्टाइन कार्यालयका प्रमुख डा परशुराम भुसालका अनुसार वीरगन्जबाट राजधानी भित्र्याउँदै गर्दा बिहान ७।३० बजे नागढुंगा नाकाबाट मरेका तीन सय कुखुरा नियन्त्रणमा लिई क्वारेन्टाइन कार्यालयले नष्ट गरेको हो । भुसालका अनुसार वीरगन्ज १६ का कुखुरा व्यवसायी कुन्दनकुमार साहले काठमाडौंको सामाखुसीस्थित न्यु श्रेष्ठ कोल्ड स्टोरलाई उपलब्ध गराउन पाँच सय कुखुरा राजधानी भित्र्याउन लागेका थिए । साहले ना।३च ५९५२ नम्बरको बोलेरो पिकअप भ्यानमा राखेर कुखरा ल्याएका थिए ।

क्वारेन्टाइन कार्यालयबाट खटिएका प्राविधिक जितबहादुर ज्ञवालीले पाँच सयमध्ये तीन सय कुखुरा मरेको अवस्थामा भेटेका थिए । ‘यसअघि पनि विशेष निगरानी गर्ने क्रममा मरेको अवस्थामा राँगाभैंसी ६ वटा, हाँस दुई सय, खसी तीन र थुप्रै कुखुरा नागढुंगा नाकाबाट क्वारेन्टाइनले नियन्त्रणमा लिएर नष्ट गरेको थियो । खास गरी चाडबाडको समयमा व्यवसायीले उपत्यकामा ठूलो संख्यामा लुकाई छिपाई मरेका खसीबोका, राँगा र कुखुरा भित्र्याउने गरेका छन् ।

प्राविधिक ज्ञवालीका अनुसार बोलेरो गाडीमा मरेका कुखुरा ओसार्ने गरिएको आशंकामा जाँच गर्दा ती कुखुरा भेटिएका थिए । उनका अनुसार पाँच सयमध्ये जिउँदा दुई सयवटा फिर्ता गरिएको र बाँकी कुखुरा बूढानीलकण्ठस्थित बायोलोजी कट पिटको हाताभित्र खाल्डो खनेर गाडिएको थियो ।

नागढुंगामा स्वीकृत दरबन्दीसहित पशु क्वारेन्टाइन चेक पोस्ट राख्ने व्यवस्था नभएकाले यस्ता व्यवसायी र तस्करले सुरक्षाकर्मीको आँखा छलेर मरेका कुखुरा, राँगा, खसीबोका र हाँस भित्र्याएर मासु तयार पारी उपभोक्तालाई बिक्री गर्दै आएका छन् । क्वारेन्टाइन कार्यालयले यस्तो कार्य नियन्त्रण गर्न नागढुंगामा स्रोत साधनसहितको पशु क्वारेन्टाइन चेकपोस्ट तत्काल स्थापना गर्न पशुपन्छी मन्त्रालयसँग माग गर्दै आएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us