Friday, 29 July 2016

टुट्यो नायिका नीता ढुंगाना र नायक आमेश भण्डारीको प्रेम सम्बन्ध , ४ वर्षपछि किन छाडे आमेशले नीतालाई ?

काठमाडौं । दुई महिना अघिसम्म एक–अर्काबिनाको जीवन कल्पनासमेत गर्न नसक्ने एउटा जोडी यतिबेला एक–अर्काको अनुहार नै हेर्न नसक्ने अवस्थामा पुगेको छ । केही घण्टा भेट नहुँदा पानीबिनाको माछाझैँ हुने यो जोडी विगत दुई महिनादेखि न त कुनै सामाजिक सञ्जालमा जोडिएको छ, न त एक–अर्काले एसएमएसबाट एक–अर्काको जानकारी लिने प्रयास गरेको छ ।

यो कुनै चलचित्रको पटकथा होइन, नेपाली चलचित्रका दुई युवा अनुहारको वास्तविक प्रेमकथा हो । केही समयअघिसम्म उदाहरणीय प्रेमी–प्रेमिकाका रूपमा चिनिने यो जोडीबीच आज ‘मित्रता’ को सम्बन्धसमेत बाँकी छैन भन्ने कुरा झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर वास्तविक यही हो, अभिनेत्री नीता ढुंगाना तथा अभिनेता आमेश भण्डारी पछिल्ला दुई महिनायता औपचारिक सम्बन्धमा समेत छैनन् ।

आमेश भण्डारी तथा नीता ढुंगाना करिब चार वर्ष लामो गहिरो प्रेम सम्बन्धबाट पछि हटेका छन् । चलचित्र क्षेत्रमा मात्र होइन, सार्वजनिक जीवनमा समेत प्रेमी–प्रेमिकाको आदर्श जोडीका रूपमा स्थापित यो जोडी विगत दुई महिनादेखि एक–अर्कासँग सम्पर्कविहीनको अवस्थामा छ । न त नीताले आमेशसँग सम्पर्क गरेर हालचाल सोधेकी छिन्, न त आमेशले नै नीताका कुनै गतिविधि नियालेका छन् ।

कतिसम्म भने, लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा समेत नीता र आमेश ‘फ्रेन्ड’ छैनन् । ब्रेकअप नहुँदै सामान्य भनाभनका क्रममा नीताले आमेशलाई फेसबुकमा अनफ्रेन्ड गरेकी थिइन् । आमेशले पनि उनलाई ुअनफ्रेन्डु गरिदिए । लगत्तै दुवैले एक–अर्कालाई ‘ब्लक’ गरेपछि प्रेम सम्बन्धमै रहेका बेला पुनस् फ्रेन्डसिप गर्न खोज्दा फेसबुकले त्यसो गर्न नमिल्ने बताइदियो ।

चलचित्रका कलाकारहरू प्रेमसम्बन्धमा पर्नु तथा केही वर्षपछि उनीहरूको विछोड हुनु नेपालमा मात्र होइन बलिउड तथा हलिउडमा समेत सामान्य मानिन्छ । पछिल्लो समय नेपाली समाजमै सामान्य व्यक्तिको डिभोर्स हुने क्रम बढिरहेको अवस्थामा चलचित्रका अभिनेता–अभिनेत्रीको प्रेम सम्बन्ध टुक्रिनु सामान्य हो, तर नीता र आमेशको प्रेमसम्बन्धले छोटो समयमै यति गहिरो रूप लिएको थियो, आमदर्शकसमेत उनीहरूले घरजम गरेको समाचार पढ्न व्यग्र थिए ।


प्रेमसम्बन्धलाई विवाहको स्वरूप दिने तरखर गरिरहेको यो जोडीको प्रेम सम्बन्धले अचानक ‘ब्रेकअप’ को रूप लिँदा उनीहरूलाई नजिकबाट चिन्नेहरूसमेत आश्चर्यमा छन् । ब्रेकअपपछि आमेशका अभिभावकहरूले उनलाई उच्च शिक्षाका निम्ति विदेश पठाउने तयारी गर्न थालेका छन् भने नीता आमेशलाई बिर्सन दिन–रात काममा व्यस्त हुन थालेकी छिन् । पछिल्ला दुई महिनायता नीता यति व्यस्त भइन् कि उक्त अवधिमा उनले १५ वटाभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिन्, सांस्कृतिक कार्यक्रमका क्रममा विदेशसम्म पुगिन् भने एउटा नेपाली चलचित्रमा अभिनयसमेत गरिन् ।

नीता र आमेशको जोडीलाई ‘ढुकुरको जस्तै जोडी’ भनेर प्रशंसा गरिन्थ्यो । उनीहरूबीचको प्रेम यति घनिष्ठ थियो कि उनीहरूको केमेस्ट्री विवाहित जोडीको भन्दा कम देखिंदैनथ्यो । प्रेम उत्कर्षमा पुग्न थालेपछि उनीहरू दुवैले चाँडै विवाह गर्ने घोषणा मात्र गरेका थिएनन्, आफ्नो जोडी सबैभन्दा अब्बल हुने दाबीसमेत गरेका थिए । पर्दाबाहिर जमेको उनीहरूको जोडीलाई निर्देशक दिनेश डिसीले चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ मा उतारे । बिडम्बना के रह्यो भने यही चलचित्रको छायांकनदेखि नै नीता र आमेशबीचको प्रेम सम्बन्धमा बिस्तारै छायाँ पर्न थाल्यो । 


आमेश र नीताले आफ्नो प्रेम सम्बन्ध टुक्रिएको खबरलाई सकेसम्म गोप्य नै राख्ने प्रयास गरेका थिए । ब्रेकअप हुनुअघि सामाजिक सञ्जालमा आलिंगन, चुम्बनदेखि बेडरुमकै तस्बिरसम्म सेयर गर्न नहिचकिचाउने यो जोडीले पछिल्लो दुई महिनायता फेसबुकमा आफ्नो जोडीका कुनै पनि तस्बिर सार्वजनिक गरेन । उल्टो आमेशले केही समयअघि फेसबुकमा ‘एक्लो हुनु उपहार हो कि श्राप ?’ भन्ने शैलीको स्टाटस लेखेर आफू अहिले प्रेममा नरहेको जानकारी घुमाउरो पाराले दिइसकेका थिए । आमेशले आफ्ना अन्य स्टाटसमा समेत एक्लो हुनुको फाइदाका बारेमा उल्लेख गरेका छन् । 

आमेशका निराशाजनक स्टाटसभन्दा ठीक विपरीत नीताले भने आफूलाई खुसी देखाउने शैलीका तस्बिर मात्र पोस्ट गरिरहिन् । म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिरहेका तस्बिरबाहेक नजिकका साथीहरूसँग घुमघाम गरेका रमाइला तस्बिर ‘फिलिङ ह्याप्पी’ शैलीमा पोस्ट गरिन् । भित्री रूपमा भने उनी पनि आमेशसँगको सम्बन्ध टुक्रिएकोमा खुसी थिइनन् । 



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us