Friday, 8 July 2016

स्पेन काण्डमा मुछिएकालाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । किर्ते काम गरेर स्पेन भ्रमणमा मान्छे पठाउन खोज्ने माओवादी केन्द्रका सांसदहरुलाई कारबाही गर्न नेपाली कांग्रेसले माग गरेको छ । अबदेखि कुनै सांसद विदेश भ्रमणमा जानुभन्दा अघि संसदलाई विस्तृत जानकारी दिनुपर्ने माग पनि गरेको छ ।

माओवादीका ८ सांसदहरूलाई स्पेन भ्रमणका नाममा ‘मानव तस्करी’को आरोपमा प्रहरीले अनुसन्धान जारी राखेको छ । सांसदहरु राममाया बोगटी, गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना खत्री, सन्तकुमार थारु, रुपा महर्जन, दिलमाया धामी र धना पहरीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । स्पेनका लागि भिसा आवेदन गर्दा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर विदेश पठाउन खोजेको आरोप उनीहरुमाथि लागेको छ ।
शुक्रबार व्यवस्थापिका संसदको शून्य समयमा बोल्दै कांग्रेस संसदीय दलकी सचेतक इश्वरी न्यौपाने र अम्बिका बस्नेतले स्पेन काण्डले सांसदहरुको बेइज्जत भएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरिन् । उनले संसदको गरिमा कायम राख्न अबदेखि सदन पूर्व जानकारी गराएरमात्रै विदेश भ्रमणमा जाने व्यवस्था मिलाउन माग गरिन् ।
शून्य समयमा बोल्ने सांसदहरुले जिल्लागत समस्या राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।सांसद ओमदेवी मल्लले सिंहदरवारको मुख्य गेट अगाडिको पर्खाल भूकम्पले भत्किएको एक वर्ष बितिसक्दा पनि अझैसम्म पुनर्निर्माण नभएको भन्दै ध्यानाकर्षण गराइन् । 
कलसा देवी महराले कन्चनपुरमा चार महिनाको अवधिमा सात जनाको हत्या भएको भन्दै शान्ति सुरक्षाको माग गरिन् । उनले गत जेठ १८ गते रामदुलारी रानाको मल्ल परिवारले हत्या गरेको तर हत्याको मुख्य अभियुक्तलाई उन्मुक्ति दिएर एक जनालाई मात्रै पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको भन्दै आपत्ती जनाइन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us