काठमाडौं । भोटेकोसी नदीमा २१ असार राति आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविसमा बगाएका घरको संख्या ६० पुगेको छ । बाढीबाट विस्थापन भई कोदारीको चौकीडाँडामा आश्रय लिएर बसिरहेका करिब १०० मध्ये ५४ जनालाई नेपाली सेनाको हेलिकप्टरले बाह्रबिसे ल्याएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिए ।
तातोपानी र लिपिङ बजारमा करिब डेढ सय घर अझै उच्च जोखिममा छन् । नदीको बहाव बजार क्षेत्रतर्फ बढिरहेको र निरन्तर कटान गरिरहेकाले यही अवस्था रहे सडक छेउका सबै घर एक सातासम्ममा बगाइसक्ने सम्भावना रहेको प्रहरी निरीक्षक भुसालले बताए ।
बाढीले तातोपानी गाविस लार्चास्थित सीमा प्रहरी कार्यालय समेत असुरक्षित रहेकाले प्रहरीहरु चौकीडाँडास्थित कोदारी मावि भवनमा आश्रय लिइरहेका छन् । त्यहाँ आश्रय लिइरहेकामध्ये ४०र५० सर्वसाधारण यसअघि नै सुरक्षित ठाउँमा गइसकेका छन् भने बाँकीलाई पनि उद्धार गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाह्रबिसेबाट तातोपानी लगिएका ३२ विद्युत् खम्बा, तार तथा एउटा ट्रान्सफर्मर बगाएकाले तातोपानी, लिस्ती, फुल्पिङकट्टी, मार्मिङ, गातीलगायत गाविसमा विद्युत् तथा सञ्चार सम्पर्क विच्छेद भएको छ । बाढीले विभिन्न स्थानमा पहिरो तथा पक्की सडक कटानले गर्दा बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किमी सडकमा यातायात ठप्प छ ।
नदीले घर बगाएपछि तातोपानी र लिपिङका मानवबस्ती पूर्ण रुपमा शून्य भएको छ ।
बाढीले यसअघि एउटा विद्यालय र खाजाघरसहित २२ घर, एउटा बेलीब्रिज र एक झोलुङ्गे पुल बगाएको थियो । माथिल्लो भोटेकोसी आयोजनाको बाँधलाई बाढीले क्षति पुर्याउनाका साथै विद्युत्गृहका चार सवारी साधन बगाएको थियो ।