Sunday, 10 July 2016

सुशीला कार्की बनिन् नेपालको प्रथम महिला प्रधानन्यायाधीश

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिको केहीबेर अघि बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो । उनी नेपालको न्याय इतिहासमा प्रधानन्यायाधीश हुने पहिलो महिला हुन् ।

समितिले कार्कीको सुनुवाई आजै सकाएको हो । कार्कीले आजै संसदीय सुनुवाई विशेष समितिको बैठकमा उपस्थित भएर आफू विरुद्ध परेको उजूरीको बिषयमा जवाफ दिएकी थिइन् । कार्कीको जवाफ सुन्नुअगाडि समितिले उनीविरुद्ध उजूरी गर्नेहरुसँग गोप्य बैठक गरेको थियो । आफूविरुद्ध परेको उजूरीको जवाफ दिंदै कार्कीले आफू महिला भएकाले मात्रै प्रधानन्यायाधीश हुन नलागेको दाबी गरिन ।

उनले आफू अस्थायी र स्थायी न्यायाधीश भएको अवधी ७ वर्ष ७ महिनामा ८ हजार ७ सय ६५ मुद्दा छिनेको बताउँदै बैशाख २ गते कायम मुकायम प्रधानन्यायाधीश भएपछि मात्रै ९ सय ३५ मुद्दा छिनेको जानकारी गराइन् ।

उनले अदालतमा मुद्दाको चाप अत्याधिक रहेको भन्दै ११ जना न्यायाधीशको सुनुवाई प्रक्रिया छिटो सुरु गर्न आग्रह गरिन् । समितिले प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस अन्य ११ जनाको पनि सुनुवाई प्रक्रिया अघि बढाएको छ ।

बैठकमा बोल्दै कार्कीले सिफारिसमा परेका ११ जना नै योग्य रहेको र प्रस्ताव सूची समावेशी रहेको बताइन् । ‘सिफारिसमा पर्नुभएका सबैजना यौग्य हुनुहुन्छ’, कार्कीले भनिन्,‘त्यसमा कसैले प्रश्न नउठाए हुन्छ ।’

उनले विभिन्न दलमा आस्था राख्ने व्यक्ति सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको आरोपप्रति लक्षित गर्दै भनिन्,‘समानुपातिकमा कोही कुनै दलबाट पर्‍यो भन्ने कुराको कुनै अर्थ छैन । म पनि मोरङ नेविसंघको अध्यक्ष थिएँ । यसै कारण मलाई कुनै दल विशेषको आरोप लगाउन मिल्दैन ।’

उनले अदालतमा केही न्यायाधीशमा कामै नगर्ने प्रवृत्ति देखिएको भन्दै गोल्डेन ह्यान्डेसकको प्याकेज ल्याएर बिदाई गर्नुपर्ने धारणा राखिन् । 
डीएनए टेष्टलाई नाता प्रमाणितको आधार नमानेको भन्दै उनीविरुद्ध परेको उजूरीको बिषयमा महत्वका साथ छलफल भएको थियो । बैठकमा सहभागी अधिकांश सांसदहरुले त्यसै उजूरीलाई आधार मानेर प्रश्न सोधेका थिए ।
उक्त उजूरीको जवाफ दिंदै कार्कीले डीएनए टेष्टलाई प्रमाणको रुपमा अस्वीकार नगरेको दाबी गरिन् । ‘नाता प्रमाणित हुने अन्य यथेष्ट प्रमाण भएमा डीएनए आवश्यक नरहेको उल्लेख गरेको हुँ’, कार्कीले भनिन् ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us