Monday, 11 July 2016

भद्र सहमति बारे माओवादीले प्रधानमन्त्री ओलीसँग गम्भिर वार्ता गर्ने

काठमाडौं । माओवादी हेडक्वार्टर बैठकले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भीर वार्ता गर्ने निर्णय गरेको छ ।
पोलिटब्यूरो र हेडक्वार्टरका यसअघि बसेका बैठकले पनि प्रधानमन्त्रीसँग राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा सोमबार बिहान बसेको बैठकले प्रधानमन्त्रीसहित अन्य दलसँग वार्ता गर्ने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता पम्फा भूसालले राष्ट्रिय सहमतिको सरकार गठन गर्न वार्ता र छलफल अगाडि बढाउन अध्यक्ष दाहाललाई जिम्मा दिएको बताइन् । ‘राष्ट्रिय सरकार बनाउन अध्यक्षले सबैसित वार्ता गर्ने,’ बैठकपछि संवाददाताहरुसित उनले भनिन्, ‘पहिल्यै भएको सहमति र समझदारीअनुसार एमालेका अध्यक्ष केपी ओलीजी र सरोकारवाला अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको छ ।’

कृषि मन्त्रीसमेत रहेका माओवादी नेता हरिबोल गजुरेलले पनि सरकारबाट फिर्ता हुने विषय प्रवेश नभएको दाबी गरे । ‘त्यस्तो छलफल भएको छैन,’ उनले भने, ‘एमालेसँग भएका ९ बुँदे सहमति र त्यससँग जोडिएका अन्य समझदारी पूरा गर्न अध्यक्षले प्रधानमन्त्रीसँग छलफल गर्नुहुनेछ ।’

बैठकमा दाहालले सत्तारुढ दलबीच आइतबार राति अबेरसम्म भएको छलफलबारे नेताहरुलाई जानकारी गराएका थिए । ‘सत्तारुढ दलका नेताहरुले दुई नेता ९ओली र दाहाल०बीच बसेर समस्या टुंग्याऔं भन्नुभएको रहेछ,’ बैठकमा सहभागी अर्का नेताले भने, ‘माओवादी पनि यो विषयलाई अब एउटा निष्कर्षमा पुर्‍याउनुपर्छ भन्नेमा पुगेको छ ।’

स्रोतका अनुसार बैठकमा नेताहरुले नयाँ सरकारको नेतृत्वबारे कांग्रेससँग ठोस प्रस्ताव माग्नुपर्ने सुझाव दिएका थिए ।

दुई महिनाअघि कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने निर्णयमा पुगेको माओवादी २४ घण्टामै निर्णयबाट पछि हटेको थियो । माओवादीले ‘धोका’ दिएको भन्दै कांग्रेसले उसले सरकार नछाडेसम्म आगामी सरकारको नेतृत्वबारे कुनै वचन दिएको छैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us