Tuesday, 12 July 2016

बीर अस्पतालका लागि भत्तपुरमा भेटियो नयाँ जग्गा

काठमाडौं । मुलुककै जेठो वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने प्रक्रिया थालिएको छ । वीर अस्पताल सञ्चालन भइरहेको अहिलेको स्थान साँघुरो र नयाँ संरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४ मा पर्ने दुवाकोटस्थित जग्गा छनोटसमेत गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का उपकुलपति गणेश गुरुङलगायतको टोलीले मंगलबार जग्गाको अवलोकन गर्दै वीर अस्पतालका लागि उपयुक्त जग्गा फेला परेको जनाएको हो । उक्त जग्गामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न हजार शय्याको अस्पताल निर्माण गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए । वीर अस्पतालको स्थानान्तरण प्रक्रिया अघि बढेको मन्त्री पौडेलले बताए । राष्ट्रपतिदेखि गिटी कुट्ने मजदुरसम्मका व्यक्तिले समान रूपमा उपचार गर्न पाउने उच्चस्तरीय अस्पतालका रूपमा विकास गरिने उनले बताए ।

सरकारले वीर अस्पताल सञ्चालनका लागि उपत्यकाभित्र ५ सयदेखि हजार रोपनी जग्गाको खोजी गरिरहेको थियो । सरकारले बजेट भाषणमा पाँच सय रोपनी क्षेत्रफलमा वीर अस्पताल सारेर अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने घोषणा गरेको छ ।

सरकारले उपत्यकाकै विभिन्न ९ स्थानमा जग्गा खोजी गरे पनि उपयुक्त जग्गा पाएको थिएन । अर्थमन्त्री पौडेललगायतको टोलीले सानोठिमीस्थित हवाई विभाग र सानोठिमी क्याम्पस रहेको क्षेत्र तथा चाँगुनारायण नगरपालिका ११ र १४ दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज आसपासको जग्गा अवलोकन गरेका हुन् । अवलोकनपछि मन्त्री पौडेलले चाँगुनारायण मन्दिरको काखको जग्गा उपयुक्त भएको भन्दै वीर अस्पताल बनाउने जग्गाको टुंगो लगाइएको बताए ।

सानोठिमीमा करिब ३ सय रोपनी मात्रै रहेकाले दुवाकोटमा करिब ५ सय ७३ रोपनी जग्गा पाएपछि टोलीले दुवाकोट उपयुक्त भएको निष्कर्ष निकालेको हो । ‘धेरै ठाउँमा जग्गा खोज्यौं, चित्त बुझदो भेटेका थिएनौं,’ मन्त्री पौडेलले भने, ‘अन्तर्राष्ट्रिय स्तरको वीर अस्पताल बनाउन विलम्ब गर्नु हुँदैन भन्ने मेरो निष्कर्ष छ ।’

पौडेलले दुवाकोटको जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का उपलकुलपति गणेश गुरुङलाई निर्देशनसमेत दिएका छन् । दुवाकोटको ५ सय ७३ रोपनी जग्गामध्ये ३ सय २४ रोपनी परोपकारको नाममा छ । त्यसमध्ये १ सय ७४ रोपनी नेपाल इन्जिनियरिङ कलेजको नाममा, १५ रोपनी चाँगुनारायण उमाविको नाममा र ६० रोपनी प्रयोगविहीन छ ।

अस्पतालको प्रस्तावित स्थलमा पुग्न कोटेश्वर सल्लाघारी हुँदै जाँदा ९ किलोमिटर पर्छ । प्रस्तावित पेप्सीकोलाबाट मनोहरा करिडोर निर्माणपछि कोटेश्वरबाट ५ किलोमिटर दूरीमा पुग्न सकिन्छ । उपकुलपति गुरुङले पनि अस्पतालका लागि अन्यत्रको भन्दा दुवाकोटको उपयुक्त हुने बताए । टोलीले अस्पतालसँगै सडकलाई फराकिलो बनाउन स्थानीयको सहयोग आवश्यक पर्ने भन्दै सहयोगको अपिलसमेत गरेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us