Friday, 10 June 2016

कमाउन गएका प्रदीप कफिनमा घर फर्किए

इलामः पैसा कमाएर परिवारमा खुशी थप्न बैदेशिक रोजगारीमा गएका इलामको दानाबारी–३ गगटेका २६ वर्षीय  प्रदीपकुमार राई ‘रुपेश’ को शव घरमा आइपुगेको छ ।

सम्पती कमाउने सपना बोकेर मलेसिया पुगेका प्रदीप कफिनमा पोको परेर घरमा आइपुगेपछि गाउँमा रुवाबासी भएको छ ।

गाउँमा रहँदा समाज सेवामा सकृय राई १३ महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनको गत जेठ २० गते मलेसियामा निधन भएको स्थानीयबासी विमल दहालले जानकारी दिए ।


मलेसियाको चिली चिन्ताङ इपोपेरा इम कम्याक्ट कम्पनीमा काम गदै गरेका रुपेशको रक्तचाप कम भएपछि उपचारमा ढिलाई हुँदा ज्यान गएको मलेसियामै रहेका दानाबारी–३ शुक्रबारे बजारका सूर्य पाख्रिनले जानकारी दिए ।

राई २०७२ वैशाख २ गते बिर्तामोडको अञ्जली ओभरसिजमार्फत मलेसिया गएका थिए । उनले ‘जिन्दगी’ एल्बममा ‘यो चुली है भीरको.....’ गीतको म्युजिक भिडियोमा पनि अभिनय सकेका थिए ।

उनको शव दानाबारीमा ल्याई घरकै आँगनमा बुधबार कविर पन्थ साधु धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको काका सुकमानले बताए ।

राईका बुवा मोहनदाश राई, आमा नन्दकुमारी राई, बाजे लक्ष्मीदाश राई, श्रीमती सुनिता राई तथा दुई छोरीहरु कृषा र श्रेया रहेको परिवारले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us