Tuesday, 28 June 2016

गौतमबुद्ध विमानस्थलको लक्ष्यः दैनिक ६० अन्तर्राष्ट्रिय उडान, यसरी बनाइँदैछ विमानस्थल

रमेश लम्साल (रासस)
भैरहवा, असार १३ । सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यकासाथ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनैपनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज ‘डाइभर्ट’ गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गौतमबुद्ध विमानस्थलको काम अगाडि बढाइएको हो ।

सन् २०१८ मा निर्माण सम्पन्न गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पकारुपमा सो विमानस्थल निर्माण सम्पन्न हुनेछ ।

आयोजनालाई युद्धस्तरमा अगाडि बढाइएको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए ।

सन् २०१८ सम्म आन्तरिकरुपमा दैनिक १६ उडान हुने प्रक्षेपण गरिएको छ भने ती उडानबाट पाँच हजार ३०० बढी नागरिकले यात्रा गर्नेछन् ।

६ ओटा अन्तर्राष्ट्रिय उडान सो विमानस्थलबाट हुनेछन् । ती उडानबाट दैनिक दुई हजार बढीले यात्रा गर्नेछन् ।

सन्चालनमा आएको एक वर्षमा चार लाख १३ हजार बढीले सो विमानस्थल प्रयोग गर्ने बताइएको छ ।

विमानस्थललाई स्तरोन्नति गर्दै सन् २०३३ मा दैनिक तीन–तीन मिनेटमा आन्तरिक तथा प्रत्येक घन्टामा तीनदेखि चारओटा अन्तर्राष्ट्रिय उडान भर्ने गरी तयारी गरिएको शर्माले बताए ।

दैनिक आन्तरिक उडानबाट एक लाख २० हजार र अन्तर्राष्ट्रिय उडानबाट २० हजार नागरिकले सो विमानस्थल प्रयोग गर्ने लक्ष्य राखिएको छ ।

‘वार्षिक ६० लाख नागरिकलाई गौतमबुद्धको जन्मस्थलमा भ्रमण गराउने लक्ष्य छ’–उनले भने ।

सो अवधिमा दैनिक एक लाख ६५ हजार कार्गोसमेत सोही विमानस्थलबाट आयात्–निर्यात् गर्ने हुने प्रक्षेपण गरिएको छ ।

तीन किलोमिटर लामो धावनमार्गको निर्माण जारी रहेको विमानस्थलमा तत्काल ‘बोइङ ७७७–२००’, एअरबस ‘३३०–३००’ र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्नेछन् ।

हाल सन्चालनमा रहेको विमानस्थलको धावनमार्गलाई ट्याक्सी ‘वे’मा परिणत गर्ने तयारी गरिएको शर्माले बताए ।

लुम्बिनी शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले अन्तर्राष्ट्रिय चासोको क्षेत्रकारुपमा रहेको छ ।

लुम्बिनीमा विभिन्न मुलुकले निर्माणका कार्य गर्दै आएका छन् । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध पैदा हुँदा अन्तर्राष्ट्रिय सम्पर्क नै विच्छेद हुन आउने अवस्थालाई मध्यनजगर गर्दै निर्माणमा गति दिइएको हो ।

लक्ष्यअनुसार पहिलो चरणमा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइनेछ भने आन्तरिक यात्रु आवागमन टर्मिनललाई पाँच हजार स्वायर मिटरको बनाइनेछ । अन्तर्राष्ट्रिय यात्रुकक्षलाई १५ हजार स्क्वायर मिटरमा बढाइनेछ ।

दोस्रो चरणमा १६० ओटा ट्याक्सी तथा सवारी–साधन अटाउने गरी अन्तर्राष्ट्रिय कार पार्किङस्थल बनाइनेछ भने आन्तरिक एप्रोनमा थप चारओटा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीका जहाज पार्किङ गर्न मिल्ने गरी तयारी गरिएको छ ।

तेस्रो चरणमा ट्याक्सी वेको लम्बाई एक हजार १०० मिटर लामो र २३ मिटर चौडाइको बनाइनेछ ।

अन्तर्राष्ट्रिय एप्रोन ५७ हजार स्क्वायर मिटरभन्दा बढीको बनाइनेछ भने ट्याक्सी वेको क्षमतासमेत उल्लेख्य मात्रामा विस्तार गरिनेछ ।

वार्षिक करिब ३० लाखभन्दा बढी बौद्ध धर्मावलम्बीलाई लुम्बिनी भित्र्याउने लक्ष्यलाई आत्मसात् गर्दै विमानस्थलको क्षमता विस्तार गर्न लागिएको हो ।

हाल एसियाली विकास बैंकको सहयोगमा अगाडि बढाइएको विमानस्थल विस्तारको काम सन् २०१८ मा सम्पन्न हुनेछ ।

रु आठ अर्ब बढीको लागत अनुमान गरिएको विस्तारकार्य सम्पन्न भएपछि त्यसपछिको लागतकाबारेमा पनि सामान्य छलफल भइरहेको आयोजना प्रमुख शर्माको भनाइ छ ।

लुम्बिनी विकास कोषलेसमेत लुम्बिनी क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखी काम गरिरहेको सन्दर्भमा पहिलो आधार नै विमानस्थललाई बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डुण्डुराज घिमिरे बताउँछन् ।

धार्मिक पर्यटनलाई बढावा दिने र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने लक्ष्यकासाथ काम भइरहेको छ ।

लुम्बिनीलाई प्रचार–प्रसार गर्ने र गौमतबुद्धको शान्तिको सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने सरकारको लक्ष्य रहेको छ ।

सोही लक्ष्यलाई बढावा दिने लक्ष्यकासाथ सरकारले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनसमेत सम्पन्न गरेको छ ।

भौतिक पूर्वाधारको विकाससँगै आउने परिवर्तनले लुम्बिनी क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले त्यसमा बढावा दिने विश्वास छ । - See more at: http://imagekhabar.com/news/latest/airport/4437#sthash.ku7KuSOZ.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us