
गणतन्त्र दिवसको तामझाम निकै नै थियो । काठमाडौं, भक्तपुर, ललितपुरकातर्फबाट छुट्टाछुट्टै झाँकीहरु प्रस्तुत गरिएका थिए ।
विभिन्न मन्त्रालय तथा विभागहरुले पनि आ–आफ्नो कार्यालयको तर्फबाट प्रहसनसहित उपस्थिति देखाए ।
विभिन्न जाती समुदायका झाँकीहरु प्रस्तुत भए, विभिन्न कलाहरु देखाइए । सैनिक हेलिकोप्टरबाट पुष्पवृष्टि गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले परेवा उडाइन् ।
पूर्व उपराष्ट्रपति परमानन्द झाले आफूलाई अमान गरेको आरोप लगाउँदै गणतन्त्र दिवस– २०७३ का अवसरमा टुँडिखेलमा आयोजना गरिएको विशेष समारोहमा नबसी फिर्ता हुनुभएको छ ।
तोकिएको समयमा टुँडिखेलस्थित नेपाली सेनाको सैनिक मञ्च पुग्नु भएका पूर्वउपराष्ट्रपति झालाई बस्ने स्थान नदिएपछि उहाँ कार्यक्रमस्थलबाट बाहिरिनुभएको हो । कालो टोपी, दौरा र सुरुवालमा सजिएर आउनुभएका झालाई बस्ने स्थान नै नदिएको आरोप उहाँले लगाउनुभएको छ ।
आफू बस्ने स्थान नदेखेपछि पूर्वउपराष्ट्रपति झा बाहिरिन खोज्दा कर्मचारीहरू आएर पुनः लैजान खोजेका थिए । तर, आफ्नो अपमान भएको ठहर गर्नुभएका पूर्वउपराष्ट्रपति झा कार्यक्रममा नबसी गडी चढेर फिर्ता हुनुभएको स्रोतले जनाएको छ ।
कार्यक्रमको उचित व्यवस्थापन नहुँदा पूर्वउपराष्ट्रपति जस्तो व्यक्तिले गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमबाट फिर्ता हुनु परेको छ ।