Monday, 2 May 2016

जहाँ स्वास्थ्यकर्मीले आफैं रगत दिएर बिरामीलाई बचाउँछन्...

 अत्याधीक रक्तश्रावका कारण ज्यानकै जोखिममा परेकी २२ बर्षिया बसन्ती बिष्ट आइतबार दिउसो बाजुरा जिल्ला अस्पताल आइपुग्दा अस्पतालमा रगत थिएन ।

जिल्ला सदरमुकामा मार्तडीबाट २ दिन टाढा पर्ने जगन्नाथ गाविसको मल्लो हुनी गाउँबाट आइपुगेकी बसन्तीको ज्यानमा चाहिनेभन्दा निकै कम मात्र रगत थियो । घरपरिवारले उनलाई सुरुमा उपचारका लागि कोल्टी लगेका थिए । तर, त्यहाँ उपचार संभव भएन ।

अर्को एक दिन कोल्टी विमानस्थलमा जहाजको बाटो हेर्दैमा बित्यो । जहाज नआएपछि एक दिन टाढाको मार्तडी जिल्ला अस्पताल ल्याइपुर्‍याइयो । मार्तडी पुग्दा उनको अवस्था जोमिखयुक्त थियो । उनी बेहोश थिइन् ।


जिल्ला अस्पतालमा बसन्ती बिष्ट

मानव शरीरमा हेमोग्लोविनको मात्रा न्यूनतम ६ प्वाइन्ट हुनुपर्छ । तर आठ महिनाकी गर्भवती बसन्तीको शरीरमा भने २ प्वाइन्ट ५ मात्र थियो । बसन्तीको उपचारमा संलग्न डा. राजन न्यौपाने उनको रिपोर्ट हेरर निक्कै आत्तिए । उनले विरामीका आफन्तलाई तुरुन्तै रगत खोज्न भने । बाजुरामा रक्तसंचार केन्द्र छैन । यसैले संचित रगत पाइदैन । रगत चाहिएमा रक्तदाता नै खोज्नु पर्छ ।

बसन्तीलाई अस्पताल पुर्‍याउने उनका देवर रामबहादुर रक्तदाता खोज्न निस्किए । तर, उनले कतै भेटेनन् । अत्याधीक रक्तश्रावका कारण बसन्तीको गर्भमा रहेको बच्चाको मृत्यु भइसकेको डा. राजनले चाल पाइसकेका थिए । त्यसैले उनको ध्यान आमा बचाउनेमै केन्द्रित थियो ।

गाउँबाट आएका विपन्न परिवारका रामबहादुरले रगतको जोहो गर्न नसकेको डा. राजनले देखिरहेका थिए । यता आफ्नै निगरानीमा रहेकी विरामीको जीवन पलपल मृत्यु नजिक धकेलिँदै थियो । केही उपाय नलागेपछि डाक्टर आफैं रगत दिन तयार भए । उनले सुरुमा रगत दिए र जिल्ला अस्पतालका अन्य स्वास्थ्यकर्मीहरुलाई पनि रक्तदान गरी विरामी बचाउन प्रोत्साहन गरे ।


आफै रक्तदान गर्दै डा. राजन न्यौपाने

त्यसपछि जिल्ला अस्पतालकै स्वास्थ्यकर्मीहरु टेकबहादुर खड्का, गौमती कटुवालले रगत दिए । त्यत्तिले विरामीलाई आवश्यक रगत नपुग्ने भयो । त्यसपछि डा. न्यौपानेले मार्तडीस्थित सेनाको देबीबक्स गुल्मका क्याप्टेन जीवन पौडेलसँग सहयोग मागे । सह–सेनानी पौडेलले पाँचजना जवानहरुलाई रक्तदानका लागि तुरुन्तै जिल्ला अस्पतालमा लिएर आए ।

सैनिक जवानहरु गणेशसिंह ठगुन्ना, डबल तामाङ, बुद्धीबहादुर उप्रेती, रामकृष्ण नेपाली र रुपेश आलेमगरले गरेको रक्तदान बसन्तीको शरीरमा स्थानान्तरण गरिएपछि बल्ल बसन्तीको होश खुल्यो । हेमोग्लोविनको मात्रा फाइभ प्वाइन्ट फाइभ पुग्यो ।

जोखिम घटेपछि बसन्तीको शल्यक्रिया गरी गर्भमै मृत भएको शिशु डा. न्यौपानेले निकाले ।

डा. राजन आफैं जिल्ला अस्पतालका प्रमुख होइनन् । उनी आकस्मिक प्रसूति केन्द्रमा कार्यरत करारका डाक्टर हुन् । तर, गर्भवतीलाई बचाउन उनको मिहिनेत देखेर जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत उत्साहित थिए । ‘धेरैको सहयोगले आमाको ज्यान बचाउन सकियो, यही ठूलो कुरा भयो,’ डा. राजनले भने ।   

सोमबार बिहान बसन्तीका देवर डाक्टर र सेनाका जवानहरुबाट पाएको सहयोगप्रति निक्कै अनुग्रहित थिए । दाजु खुट्टा मर्केर अस्पताल आउन नसकेको बताउँदै उनले आफ्नो जिम्मेवारीमा उपचार गर्न ल्याइएकी भाउजुले पुर्नर्जीवन पाएको उनी निकै खुशी थिए ।
............................

बसन्तीलाई अस्पताल पुर्‍याउनु केही घण्टाअघि बडीमालिका–९ कि शारदा विकलाई अस्पताल ल्याइएको थियो । सुत्केरी शारदाको अवस्थामा पनि जोखिम युक्त थियो । उनका पति सूर्य विकले पनि रक्तदाता पाएका थिएनन् ।


रक्तदान गर्दै मार्तडीस्थित देवीबक्स गुल्मका सैनिक जवान रामकृष्ण नेपाली

कतै खोज्दा पनि रक्तदाता नपाएपछि अस्पतालकै स्वास्थ्यकर्मी दुर्गा बजगाईले रगत दिएकी थिइन् । बजगाईसँगै युनिसेफको गोष्ठी चलाउन जिल्ला स्वास्थ्य कार्यालयमा आएका बिक्की प्रसाई र मिना थापाले पनि रक्तदान गरेर शारदाको ज्यान जोगाएका थिए ।

रक्तसञ्चार केन्द्र नभएका कारण बाजुरामा रगतको अभाव सँधै रहने गरेको छ । रक्तदाता तयार भएपछि सिधै विरामीमा रगत दिने पद्धति आकस्मिक रक्तसञ्चार सेवा मात्रै जिल्ला अस्पतालमा संचालनमा छ । यसका लागि तत्काल रक्तदाता चाहिन्छ ।

तर, यहाँका स्थानीयमा रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रम भएकाले रक्तदान गर्न तयार हुँदैनन् । रक्तसञ्चार केन्द्र नभएकाले तत्काल रगत आवश्यक भएका विरामीहरुलाई जोगाउन अधिकांश बेला सेना प्रहरीले रक्तदान गर्दै आएका छन् । ‘अस्पतालकै स्वाथ्यकर्मी र यहाँस्थित देवीबक्स गुल्मका सैनिक जवानहरु तयार नभएको भए बसन्ती र शारदालाई बचाउन सम्भव थिएन,’ नेपाल रेडक्रस बाजुराका मन्त्री रमबहादुर शाहीले भने । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us