Tuesday, 10 May 2016

मुनाले तरकारी बेचेरै छोरालाई इन्जिनियर बनाइन्


आँबुखैरेनी नगरपालिकामा हालै इन्जिनियरको जागिर खाएका पंकज चितौरेले कुनै दिन इन्जिनियर बनेर घरपायक जागिर खाऔंला भनेर कहिल्यै सोचेका थिएनन् ।

निम्नवर्गीय किसान परिवारमा जन्मिएका मेधावी विद्यार्थी उनलाई कतै जागिर खाऔंला भन्ने सपनासम्म फुरेको थियो । तर, आफ्नो छोराको प्रतिभा चिनेकी मुना चितौरेले मनमनै छोराको क्षमताअनुसारकै विषय पढाउने सुर कसेकी थिइन् । आखिर उनी सफल भइन् पनि ।

आफ्नै घरअगाडिको करेसामा बिहानदेखि साँझसम्मको समय बिताउने उनले गरेको कठोर मेहनतको फलस्वरूप पश्चिमाञ्चल इन्जिनियरिङ कलेज पोखरामा अध्ययन गरेका पंकज आफ्नो अध्ययन सकेर घरगाउँमै जागिर खान सफल भए । कार्यालय जानै लाग्दा घरमा भेटिएका पंकजले यसरी खुसी साटे, ‘मैले इन्जिनियर भएर यहीं जागिर खान सकौंला भनेर कल्पनासम्म गरेको थिइनँ । अहिले सम्झँदा निकै आनन्द लाग्छ ।'

मार्कीचोककी नमुना कृषक मुना छोरो इन्जिनियर बन्दा खुसी नहुने कुरै भएन । वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने उनले त्यसैको बलमा छोरालाई इन्जिनियर बनाइन् । पति शिक्षण पेसामा आबद्ध भए पनि उनको कमाइ घरमेलो चलाउँदै सकिन्थ्यो । मुना भन्छिन्, ‘यो सबै व्यावसायिक कृषिको देन हो ।'

आफ्नो करिब आठ रोपनी जग्गा कहिल्यै खाली नराख्ने मुनाको मेहनतकै फलस्वरूप उनले सफलता पाउँदै गरेको जिल्ला कृषि विकास कार्यालय आँबुखैरेनी सम्पर्क स्थलका प्रमुख खितकुमार श्रेष्ठले बताए । ‘समय चिनेर बाली लगाउने अनि मेहनत गर्ने बानीकै कारण उहाँ नमुना कृषक बन्नुभएको छ,' उनले भने ।

जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले नमुना कृषक मुनालाई कार्यालयले कृषिसम्बन्धी नयाँ प्रविधि, युवालक्षित तरकारी खेती तथा सिँचाइ सुविधाका लागि समेत सघाएको बताए । ‘व्यावसायिक कृषिमा लाग्ने कृषकलाई हरतरहले सघाइरहेका छौं,' उनले भने, ‘व्यावसायिक कृषिमा धेरैको आकर्षण देखिएको छ ।'

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us