Sunday, 1 May 2016

बागमती नदीका दुवै किनारमा हरियाली पार्क

 फोहोर र दुर्गन्ध, बागमती नदीको पहिचान बन्दै आएको छ । यो पहिचान मेटेर बागमतीलाई फेरि पहिलेकै अवस्थामा ल्याउन अभियान चल्दै आएको छ । हरेक हप्ताको शनिबार बागमती सरसफाई गर्ने अभियान चलिरहेको बेला अर्को काम पनि हुँदैछ । त्यो हो, नदीको दुवै किनारमा हरियाली पार्क बनाउने । नदीको दुवै किनारमा भौतिक पूर्वाधार निर्माण कार्य गरी बाँकी रहेको क्षेत्रमा सरकारी तथा गैरसरकारी संघ÷संस्था, निजी क्षेत्रसँग सहकार्य गरेर उद्यान बनाउन अभियान थालिएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । 
अभियान थालेसँगै उद्यान बनाउनेको आकर्षण बढेको छ । अभियानमा प्रहरी, विद्यालय, दुरसंचार, बैंक, युवा क्लब, महिला, आमा समूहलगायतका सार्वजनिक तथा निजी संघ संस्थाहरुले उद्यान बनाउन ईच्छा देखाएका छन् । 
समितिका उद्यान ईन्चार्ज राम दयालप्रसाद यादवले उद्यान बनाउने अभियानमा अहिलेसम्म ४५ सरकारी तथा गैरसरकारी संघ/संस्था, निजी क्षेत्रले ईच्छा देखाएको बताउनुभयो । उहाँका अनुसार २५ वटासँग सम्झौता भईसकेको छ भने २० वटाले काम थालेका छन् । आठ ठाउँमा त यस्तो पार्क बनिसकेको छ ।
समितिले तिलगंगादेखि शंखमुल पुलसम्म झण्डै २ सय रोपनी क्षेत्रमा उद्यान निर्माणको योजना बनाएको छ । हालसम्म १ सय ५० रोपनी भन्दा बढी क्षेत्रफल उद्यानका लागि माग भई सम्झौता भईसकेको छ । उद्यान निर्माण गर्न झण्डै ६ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
बन्न लागिएको उद्यानमा योगा गर्न मिल्ने समितिले जनाएको छ । यस्तै पारिवारिक वातावरण मैत्री, जेष्ठ नागरिक मैत्री, बालबालिका मैत्री, अपाङ्गमैत्री लगायतका उद्यान बन्नेछन् । अभियानबाट नेपाल सरकारको स्वामित्वमा र निर्देशन अनुरुप संघ/संस्थाहरुले आफ्नै लगानीमा निर्माण, संरक्षण र सम्वद्र्धन गर्ने काम गरिरहेका छन् । उद्यान निर्माणपछि भने जस्ले बनाएको हो उसैले केही निश्चित समयका लागि सरकारको निर्देशनमा हेरचाह गर्नुपर्ने लगायतका सम्झौता अनुसारका सर्तहरु लागु हुनेछन् ।
नदी किनारमा बसोवास गर्ने र अन्यका लागि पनि स्वस्थ्य मनोरञ्जनको स्थल विकास गर्न र स्वास्थ्य लाभ गर्ने सुन्दर स्थान बनोस् भन्ने उद्देश्यले उद्यान बनाउन लागिएको हो ।
उद्यानमार्फत नदीमा पानीको शुद्धता र बृद्धिमासमेत सहयोग पुग्ने कार्य गर्न र भू–क्षय नियन्त्रणमा पनि सहयोग पुर्याई वातावरण स्वच्छ रहने विश्वास लिएको छ ।
समितिले नदीको दुवै किनारमा खाली भएको क्षेत्रहरुमा उद्यान निर्माण र बृक्षारोपण कार्यमा सहभागी हुन आह्वान पनि गरेको छ । 
समितिको कार्यालय हाताभित्र बालबालिकालाई बागमतीको बारेका चेतना दिनका लागि बाल उद्यान पनि बनिसकेको छ भने त्यहाँ प्रत्येक शनिबार बालबालिकाका लागि खुला गरिएको छ ।
बाल उद्यान भित्र रहेर बालबालिकाले आफुले बागमतीका बारेमा जान्न चाहेको जानकारी सजिलै लिन सकिने उद्यान ईन्चार्ज यादवले बताउनुभयो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us