Thursday, 19 May 2016

'दुई वर्षमा नेपाल पेट्रोलियम पदार्थमा आत्मनिर्भर'

प्रधानमन्त्रीद्धारा चौतारीको महाधिवेशनको उद्घाटन
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भरको बाटोमा सरकार अघि बढेको बताएका छन् ।


प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाअधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले नेपालले लामो समय दक्षिणी छिमेकीको तेल प्रयोग गरेको र उत्तरी छिमेकीको पनि प्रयोगको आश गर्नुपरेको सन्दर्भमा सरकारले स्वदेशमै तेल खानीको दैलेखमा अन्वेषण गरिसकेको बताए ।

उनले नवलपरासी जिल्लामा मुलुकको वार्षिक बजेटभन्दा बढी १० अर्ब आय हुने फलाम खानीसमेत फेला पारिसकेको जानकारी दिए ।

मुलुकले लोकतान्त्रिक संविधान पाइसकेकाले अब तीव्र आर्थिक विकास हुने गरी सरकारले बजेट ल्याउने र जनतामा आशा जगाउने काम गरिरहेकाले वृद्धिजीवी र पत्रकार वर्गले त्यसलाई सकारात्मक रुपमा बुझिदिनुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रेस चौतारीले स्थापना गरेको हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार शिव गाउँले, अग्नि शिखा पुरस्कार देवराज अर्याल, डेकेन्द्र थापा स्मृति पुरस्कार यज्ञराज थापा र विद्युत् माओजी तथा वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार दिलीपकुमार सिंहलाई प्रदान गरे ।

त्यस्तै, ओलीले प्रेस चौतारीको प्रकाशन माक्सवादको उज्यालो र चौतारीको लोकार्पण गरे ।

एमाले निकट पत्रकारको साझा संस्था चौतारीको महाअधिवेशनमा करिब ७०० जनाको सहभागिता रहेको छ । नयाँ नेतृत्वका लागि माधव नेपाल र गणेश बस्नेत प्यानल बनाएर चुनावी मैदानमा छन् ।  रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us