Tuesday, 17 May 2016

केरुङ-काठमाडौँ रेल ल्याएरै छोड्छुः प्रधानमन्त्री ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै विरोध भए पनि सरकारले केरुङ–काठमाडौँ रेल ल्याएरै छोड्ने बताएका छन् ।

सोमबार तेइसौँ मदन–आश्रित स्मृति दिवसका असरमा सोमबार एमालेले गरेको प्रवचन कार्यक्रममा बोल्दै ओलीले भने, ‘विरोध हुँदै गर्छ सरकारले केरूङ–काठमाडौँ रेल ल्याएरै छोड्छ ।’


चन्द्रशमशेरकै पालदेखि नेपालमा रेल ल्याउन सर्वेक्षण हुँदा विरोध भएको ओलीले बताए । ‘चन्द्रशमशेरकै पालादेखि नेपालमा रेल ल्याउन सर्वेक्षण गर्न खोज्दा पनि विरोध भएको थियो,’ ओलीले भने ।

ओलीले तराईमा जनताले समर्थन नगरेपछि आन्दोलनरत दल काठमाडौँ छिरेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्थामा जनताको अभिमत तथा विधि र प्रक्रियाबाट निर्णय हुने भएकाले त्यस बाटामा आउन आग्रह गरे ।

‘सार्वभौमसत्ता सम्पन्न संविधानसभाका ९२ प्रतिशत जनप्रतिनिधिले बनाएको संविधानविरुद्ध पुनर्लेखनको आन्दोलन गर्नु नेपालको विरुद्ध भयानक षड्यन्त्र हो । पुनर्लेखनको अधिकार यो संसद्लाई छैन, जायज माग छ भने वार्ताबाट संशोधन हुन्छ,’ ओलीले भने ।

एमालेका अध्यक्षसमेत रहेका ओलीले भने, ‘नेपालीले भनेको नमान्ने, कसले भनेको मान्ने हो ? केटाकेटी जिद्दी गर्ने ? सिंहदरबार अगाडि ट्राफिक जाम हुने गरी जनतालाई दुःख दिन गरिएको धर्नालाई सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन ।’

ओलीले भने, ‘लोकतन्त्रमा कानुनको राज हुन्छ । तोडफोड र हिंसा नगर्नुस्, आन्दोलन रोकेर वार्तामा आउनुस्, बरु जनताको सेवा गर्ने हो भने पुनःनिर्माणका लागि स्वयम्सेवा गर्नुस् ।’

प्रधानमन्त्री ओलीले जननेता मदनकुमार भण्डारीले प्रतिवादन गरेको ‘जनताको बहुदलीय जनवाद’को आलोकमा नेपालको वर्तमान कम्युनिस्ट आन्दोलन र सरकार अघि बढेकाले आसन्न बजेट मार्फत मुलुकलाई तीव्र आर्थिक विकासको बाटामा लगरै छाड्ने दृढता व्यक्त गरे ।

उनले सरकार बन्न नदिनेले सरकार ढाल्न आफ्नो घाँटीसम्म हात ल्याए पनि त्यसलाई पराजित गरिएको बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीमबहादुर रावलले सरकार समाजवादको बलियो आधार तयार गर्ने लक्ष्यका साथ अघि बढेको बताए ।

अर्का उपाध्यक्ष युवराज ज्ञवालीले मदन भण्डारीका विचार र नेतृत्वले मानिसलाई परिवर्तन गराएकाले वाम सहकार्यसहित त्यस बाटालाई पार्टीले निरन्तरता दिएको बताए ।

सचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक न्यायसहितको लोकतन्त्र स्थापनाको भण्डारीको लक्ष्य पूरा भएकाले अब प्रगतिशील राष्ट्रवाद सहितको आर्थिक विकासमा लाग्नुपर्ने बताए । रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us