Friday, 15 April 2016

को हुन साउदी अरबमा नेपाली राजदूत शर्मालाई छुरा हान्ने ?

साउदी अरबका लागि नेपालका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि दूताबासमै छुरा प्रहार भयो । छुरा प्रहारबाट काँध र औँलामा गम्भीर चोट लागी अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ । राउतका अनुसार शर्माको काँध र मुखमा टाँका लगाइएको छ ।

शर्मालाई बिहीबार बिहान करिब ११ बजे दूतावासकै आश्रयमा बस्दै आएका सुनसरीका लक्ष्मणबहादुर राईले उनको कार्यकक्षमै गएर छुरा प्रहार गरेका थिए । शर्माको कार्यकक्षको ढोकाको चुकुल लगाएर सोफाले थुनेर आक्रमण गरिएको थियो । राई कार्यकक्षमा प्रवेश गरेर एक्कासि आक्रमण गर्न थालेपछि शर्मा चिच्याएका थिए । शर्मा चिच्याएको सुनेपछि दूतावासका कर्मचारीको सहयोगमा साउदी प्रहरीले ढोका तोडेर तुरुन्तै उनलाई उद्धार गरेको थियो ।

‘तुरुन्तै उद्धार हुन नसकेको भए ठूलै घटना हुनसक्थ्यो’, राउतले टेलिफोनमा भने । छुरा प्रहारबाट घाइते भएका शर्मालाई तत्कालै उपचारका लागि रियादस्थित किङ फैसल अस्पतालमा पुर्याइएको थियो । शर्मालाई आक्रमण गर्ने राई भने एक महिनाअघि देखि स्वदेश फिर्तीका लागि दूतावासकै आश्रयमा बस्दै आएका थिए । दूतावासका अनुसार मानसिक रोगी रहेका राईलाई केही दिन भित्रैमा स्वदेश पठाउने तयारी भइरहेको थियो ।

यसअघि राईलाई सबै प्रक्रिया पूरा गरेर स्वदेश पठाउनका लागि दुई पटक एअरपोर्ट लगिए पनि विभिन्न बहाना बनाएर स्वदेश फर्कन मानेका थिएनन् ।

राईले आफू कार्यरत कम्पनीकै भारतीय कामदारलाई समेत चक्कु प्रहार गरी भागेर दूतावासको शरणमा आएको राउतले बताए । छुरा प्रहार गर्ने राईलाई साउदी प्रहरीले नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us