




भूकम्पगएको ठ्याक्कै एक वर्ष पुगेको दिन आइतबार बिहान ११ बजेर ५६ मिनेटमा उनीहरुले मेलम्ची ८, गिरानचौरमा दोस्रो एकीकृत बस्तीको शिल्यान्यास गरेका हुन् ।
बस्ती निर्माणको काम थालनी स्वरुप गिरान चौर एकीकृत बस्तीमा सामूदायिक भवनको जगशिल्यान्यास गरिएको हो ।
यस अघि विभिन्नव्यक्ति, संघ संस्थाको सहयोगमा धुर्मुस सुन्तलीले काभ्रेको डाँडा गाउँमा पहिलो एकीकृत नमुना बस्ती बनाएका थिए ।
गिरानचौरमा रहेका ६५ परिवारका लागि करिब ६ महिना भित्र एक घर, एक धारो, एक चर्पी, एक बगैँचालगायतका संरचना निर्माण गरेर हस्तान्तरण गर्ने फाउण्डेशनको लक्ष्य छ ।
गिरानचौर एकीकृत बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय बनाइने फाउण्डेशनले जनाएको छ ।पुनर्निर्माणमा ढिलाइ भइरहेकाले सरकारलाई सघाउने उद्देश्यले नयाँ नमुना बस्ती बनाउने अभियानमा लागेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।
धन नभएपनि ठूलो मन लिएर बस्तीको शिल्यान्यास गरेको बताउँदै उनले सहयोगी हातहरुको खाँचो रहेको औँल्याएका छन् ।
गिरानचौर एकीकृत बस्ती निर्माणको काम थालनी गर्दै गर्दा उनले पहिलो एकीकृत बस्ती बसाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्थाहरुलाई धन्यवाद दिए । देश विदेशबाट सहयोग गर्ने केही प्रतिबद्धताहरु आउन थालेकोमा खुशि व्यक्त गर्दै उनले यिनै प्रतिबद्धताका कारण काम गर्ने आँट पलाएको जनाएका छन् ।
साढे तीन करोड अनुमानित लागत रहेको यो बस्ती निर्माणको थालनी गर्दा अहिले फाउण्डेशनको खातामा जम्मा १ लाख ७४ हजार रुपैँया मात्र रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । मनदेखि आँटेको काम पूरा गर्न मनकारी मान्छे, संघसंस्थाहरु भेटिने आशामा गिरान चौर एकीकृत बस्ती बसाउन आफूहरु अघि सरेको उनको भनाइ छ ।
एकीकृत बस्ती सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका ८, गिदानचौरमा रहेको छ । बस्तीको क्षेत्रफल १ सय रोपनी रहेको छ भने त्यहाँ ट्वाइलेट बाथरुम सहितचार कोठे भूकम्प प्रतिरोधि भवन निर्माण गरिने छ । बस्तीमा भूकम्प प्रभावितको ६५ घर रहेका छन् भने ५ सय १५ जना प्रभावित छन् ।