Saturday, 16 April 2016

खोटाङ दुर्घटनाका मृतकको गहना र पैसा कसले लुट्यो ?

बर्खेटारमा भएको बस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेका आफन्तले मृतकको साथमा रहेको नगद, गहना र सामान नपाएको भन्दै आक्रोश पोखेका छन् ।

महादेवस्थान–१ स्थित बर्खेटारमा २४ जनाको ज्यान जाने गरी मङ्गलबार भएको बस दुर्घटनाका मृतकले लगाएको सुनको औँठी, सिक्रीलगायत नगद नपाएको भन्दै मृतकका आफन्तले आक्रोश पोखेका हुन् ।

दिक्तेलबाट काठमाडौँ हिँडेको बा२ख ६३७६ नंको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनाका मृतक र घाइतेले लगाएको गहना तथा बोकेको नगद फेला नपरेको मृतकका आफन्तले बताएका   छन् ।

दुर्घटनामा परी ज्यान गुमाएकी निर्मलीडाँडा गाविस–३ की ३३ वर्षीया विमला राईको साथमा रहेको नगद तथा गहना फेला नपरेको मृतकका भाइ मिलन राईले बताए । उनीजस्तै अन्य आफन्तले पनि यस्तै गुनासो गरेका छन् ।

दुर्घटना भएकै अघिल्लो दिनमात्र तलब बुझेर खोटाङको जालपाबाट हिँडेका २० जना कामदारका आफन्तले समेत कुनै रकम फेला पारेका छैनन् ।

उनीहरुमध्ये कतिपयको मृत्यु भएको छ भने कतिपय घाइते छन् । उनीहरुको साथमा भएको आठ लाख बढी नगद तथा सामानसमेत आफन्तले पाएका छैनन् ।

आफूहरुले उद्दारका क्रममा फेला पारेको सबै सामान मृतक तथा घाइतेका परिवारलाई उपलब्ध गराइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले बताए । रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us