Sunday, 17 April 2016

मरुभूमिमा पाइने उँट भक्तपूर जिल्लामा भेटियो, हेर्नुहरुको भीड लाग्यो

 पालले बेरेको अग्लो बारभित्र मानिसहरुको गाईगुई हल्ला सुनिन्छ । कोहि बारमा टाँगिएको फ्लेक्समा उँटको फोटो हेर्दै छन् भने कोहि टिकट काटेर पालभित्रको उँटलाई हेर्दैछन् ।
सधैं टेलिभिजन र फोटोमा मात्र देखेको उँटलाई आफ्नै अगाडि देखेकाले होला हेर्न आउनेहरु हल्ला गर्दै उँटसँग फोटो पनि खिचिरहेका छन् । साढे सात फिट अग्लो उँटलाई देखेर मेला हेर्न आउनेहरु उँट नजिक गएर फोटो खिच्न थाल्छन् । कोहि उँटलाई छोएर फोटो खिचाउँछन्, कोहि  उँटले खुट्टा उचाल्ने बित्तिकै भागेर पर पनि जान्छन् ।
भक्तपुर सल्लाघारीमा चैत २४ गते गतेदेखि वैशाख ५ गतेसम्म चलेको औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलालाई यो उँटले अझै आकर्षक बनाएको छ ।
मोती नाम गरेको यो उँट राजस्थानबाट ल्याइएको हो । तीन क्विन्टल तौल रहेको मोतीले घाँससँगै हप्तामा पाँच लिटर पानी पिउने गरेको उँट मालिक अस्मित अधिकारीले जानकारी दिनुभयो ।
मनोरञ्जनका सामग्रीहरु, व्यापारिक सामानहरुको दुई सयभन्दा बढि स्टल भएको मेलामा यस वर्ष उँट पनि थपिएको थियोे । मरुभूमिको उँटलाई आफ्नै अगाडि देख्न पाउँदा खुसी लागेको बताउनुहुन्छ दधिकोटकी सिता कार्की । उहाँ भन्नुहुन्छ, ‘ठूलो उँट ल्याएर मानिसहरुलाई चढाउन पाएको भए अझ राम्रो हुन्थ्यो । यो उँट त सानो छ ।’
मेलामा आएका मानिसहरुलाई ‘ए हजुर कता ? राजस्थानको उँट यता’ भन्ने निम्तोले तानेर पालभित्र लैजान्छ । यहि निम्तो मानेर पालभित्र मोती नामको उँटलाई हेर्न आएका मानिसको संख्या २५ सय कटेको छ । अधिकारी भन्नुहुन्छ, ‘यो मेलामा आएका मानिसहरु अन्त भन्दा कम हो ।’ यो उँट काठमाडौं, ललितपुरका साथै बाहिरका धेरै जिल्लाहरुमा पनि देखाउन लगिएको उहाँको भनाई छ ।

मरुभूमिमा बस्ने उँटलाई वातावरण नमिलेकोले होला अवलोकन गर्न आउनेहरु टेलिभिजनमा जस्तो राम्रो नहुने रैछ भन्दै पनि हिड्छन् । झौखेलका मनोहर शर्मा भन्नुहुन्छ, ‘सोचेको जस्तो आकर्षक छैन ।’ अधिकारीले मेलाको चिडियाघरमा अस्ट्रिच पनि राख्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘ठूलो चरा भएपनि घरमा पाल्न हुन्छ भन्ने सन्देश दिनका लागि यो मेलामा ल्याएका हौं ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us