सिड्नीका एक युवा सुरज भट्टराईको आज निधन भएको छ । दिउँसो करिब २ बजे उनी
आफ्नै अपार्टमेन्ट नजिकै रहेको जिम हलमा मृत भेटिएका छन् । सिड्नीको
हस्र्टभिलस्थित गेटवे अपार्टमेन्टमा परिवारसँग बस्दै आएका भट्टराई आफ्नो
छोरा लिएर दिउँसो जीम गर्न त्यहाँ लागेका थिए ।
तर, केहीबेरमा उनी मृत
भेटिए । प्रहरीले घटनाका सम्बन्धमा सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।
स्वीमिंग पुल सँगै रहेको जिमखानामा रहेको सीसी क्यामेरा बिग्रिएका कारण
भित्र के भएको थियो भन्ने केही जानकारी प्राप्त नभए पनि प्रहरीले हर्ट
एट्याकका कारण दुर्घटना भएको अनुमान गरेको छ । उनीसँगै रहेका उनका छोरामा
मनोवैज्ञानिक असर नदेखेपछि त्यहाँभित्र कुनै अन्य गतिविधि भएको हुनसक्ने
सम्भावना नरहेको प्रहरीले प्रारम्भिक विश्लेषण गरेको हो । उनको पारिवारिक
निकट श्रोतले भट्टराईमा मुटुको समस्या नभएको जानकारी दिएको छ । अहिले शवलाई
स्थानीय ग्लीबको फोरेन्सिक डिपार्टमेन्टमा लाने तयारी गरिएको छ । घटना
लगत्तै सँगै रहेका छोराले बाहिर आएर अन्यलाई जानकारी दिएका थिए ।
भट्टराईकी
श्रीमती पनि घटनास्थलमा पुगिसकेको र प्रहरीले उनबाट जानकारी लिएको बताइएको
छ । अनुसन्धान पूरा भइसकेपछि मात्रै मृत्युको कारणबारे थप जानकारी प्राप्त
हुने प्रहरीले जनाएको छ । मृतक भट्टराईको श्रीमती, छोरा र छोरी छन् ।
तन्दुरुस्त मान्छेलाई नै यस्तो दुर्घटना परेपछि यतिबेला सिड्नीको नेपाली
समूदाय आश्चर्यमा परेको छ । सुरजले हिजो मात्र आफ्नी जीवनसंगीनीसँगको
खुशीको क्षण प्रोफाईलमा शेयर गरेका थिए । जसलाई धेरैले लाईक गरेका छन् र
उक्त तस्वीरमा उनी खुशी देखिन्थे । यसअघि हिजै मात्र उनले जीवन उत्साहको
स्ट्याटस लेखेका थिए । उनलाई मनपरेर कतैबाट शेयर गरेको उनको त्यो भनाईमा
जीवन यस्तो देखिन्थ्यो –
“जब तिमी मर्छौ, तिमी मात्र लाश हुन्छौ । मान्छेहरु भन्छन्, लाशलाई यता
लेऊ, लाशलाई त्यहाँ राख । न कसैले तिमीलाई नाउँ लिएर बोलाउँछन् न नाताले ।
जिन्दगीमा अवसरहरु लिऊ । आफुलाई मनपर्ने कुरामा पैसा खर्च गर । पेट
दुखुन्जेल हाँस । खराब नाचेपनि नाच । नजाने पनि पोज दिएर फोटो खिच ।
बच्चाजस्तै बन । मृत्यु जीवनको ठूलो क्षति होइन । क्षति त त्यतिबेला हुन्छ
जब जीवन तिमीभित्र ज्यूँदै मर्छ ।”